
‘बिरानो गाउँको सफलतापछि ‘बिरानो सहर’ बजारमा
गोरखाली गीतकार तथा संगीतकारहरुले ‘बिरानो गाउँ’को सफलतापछि फेरि ‘बिरानो सहर’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
पानीको फोका, बचन जस्ता गीतले चर्चाको शिखर चुमिसकेका गीतकार डाक्टर राजुबाबु श्रेष्ठको ‘आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी’, शव्दले सजिएको ‘बिरानो सहर’ सार्वजनिक भएको छ । सो म्युजिक भिडियोमा उदीयमान संगीतकार अनीर मास्केले संगीत भरेका छन् ।
प्रेमिकालाई गाउँमा छाडेर पैसा कमाउन सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने संकटप्रति सचेत हुँदै सहरमा पुगेर संघर्ष गरिरहेको युवाको कथा यसमा छ ।
मास्केद्वारा संगीतवद्ध सो म्युजिक भिडियोमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर भरेका र सचिन सिंहले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई निर्देशन, छायांकन र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेका छन् ।
यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमाु नामक गीत सार्वजनिक भएको थियो । सो गीतमा गायिका मिलन नेवारले स्वर दिएकी थिईन । विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको संगीतकार मास्केले जानकारी दिए ।
‘विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ’, उनले भने ।