| आइतवार, माघ १५, २०७९

पुरातात्विक सम्पदा : विकास र निकास दुवैको खाँचो


राजनविक्रम थापा
(साविक नारेश्वर २ गोरखा)


गोरखा जिल्लाको ईतिहास र पृष्ठभूमि हरेक नेपालीको मनबाट मेटिदैंन । प्रचारप्रसार र विज्ञापन विना पनि गोरखाको विश्वब्यापी रुपमा स्थापित पहिचान लोभ लाग्दो छ । कतिपय मुलुकमा अझै पनि नेपालभन्दा चिनाउन मुश्किल भयो भने गोरखा सैनिक वा विरगाथाको कुराले सजिलै चिनाउन सकिन्छ । गोरखा राज्यका विभिन्न मिथक र हालसम्म राष्टिय राजनीतिमा यस क्षेत्रले पुर्याएको योगदान र प्रभाव छुटटै बहसको विषय हुन सक्छ । तर गोरखा जिल्लाको भौतिक, आर्थिक तथा सामाजिक विकासलाई मुलुककै अन्य भूभागसँग तुलनात्मक रुपमा हेर्ने हो भने गोरखावासी नागरिकले सन्तोष गर्ने अवस्था देखिदैन ।


यसका पछाडि सयौं कारणहरु हुन सक्छन् । राजनैतिक रुपमा जसअपजस र आरोप प्रत्यारोपको श्रृंखला शुरु पनि होलान् । तर मूलभूत बिषय भनेको गोरखाको ऐतिहासिक विरासतको महिमालाई जर्गेना गर्दै आर्थिक र सामाजिक पक्षमा सकारात्मक परिवर्तनतर्फ उन्मुख हुनु हो । गोरखाको समग्र विकासमा पर्यटनको संभावना र त्यसका लागि चाल्नु पर्ने कदमहरुको बारेमा स्थानीय निकायको चासो रहनु र सक्रियता बढनु पक्कै राम्रा विषय हो । तर सरोकारवालाहरुसँग संवाद र समन्वय नगरी सीमित पक्षलाई मात्र विश्लेषण गरेर पुरातात्विक संरचनामा परिवर्तन गर्नु तथा आवतजावतमा प्रयोग भैरहेको सडकको वीचमा शालिक राख्ने निर्णय गरी तत्काल कार्यान्वयनमा जाने उदघोष गर्नु विबेकपूर्ण कार्य नहुन सक्छ ।


यसै सन्दर्भमा गोरखाको केन्द्रबिन्दुमा रहेको साविकको प्रशासनिक भवनमा बनाइएको संग्रहालय र ठूलो आँगन नामले परिचित चोकमा शालिक निर्माण गर्ने र सेनाको विशेष टुकडीले सोही सालिकलाई केन्द्रविन्दुमा राखेर नियमित परेड खेल्न र त्यसलाई पर्यटकीय आर्कषणको विषय बनाउने विषयमा गोरखावासी वीच मत अभिमत देखिएको छ । विकास निर्माण गर्ने, त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्ने, सांस्कृतिक र पुरातात्विक विषयमा खोज अनुसन्धान गर्दै संभावित पर्यटकलाई लोभ्याउने कार्य अति सह्रानीय कार्य हो ।

तर सदियौंदेखि मूल बाटोको रुपमा रहेको चोक जसलाई आधार मानेर जनताले आफनो जीविकोर्पाजन र बसोबासको आधार निर्माण गरेका छन् । त्यो भन्दा सुलभ र सहज निकास र विकल्प विना त्यसलाई साँघुर्याएर कुनै कानुनी वा शासकीय शक्तिको प्रदर्शनतिर लागियो भने त्यो गोरखावासीका लागि दुर्भाग्य सावित हुनेछ । यसर्थ कुनैपनि हिसाबले आकस्मिक रुपमा निर्णय र कार्यान्वयन गर्नु अघि मर्का पर्ने सरोकारवालाहरुसंग सार्वजनिक संवाद गरेर विकासभन्दा पहिले निकासको बारेमा छलफल केन्द्रीत गरी विकल्पको खोजी, मुल्याकंन र प्रयोगपछि मात्र संरचना निर्माण गर्नु विबेकपूर्ण हुने देखिन्छ ।


पुरातात्विक संरचनालाई पहिलेकै अवस्थामा बरकरार राख्ने कुराले विश्वभर चर्चा पाएको छ । त्यसको संबद्र्धन र संरक्षण गर्नु नागरिक र राज्यको कर्तब्य पनि हो । बरु अनुसन्धान र खोजबाट तत्कालिन अवस्थामा के कस्ता संरचना थिए ? ति कहिले र कतिवेला कोद्वारा मासिए? सो पत्ता लगाएर पुर्नस्थापना गर्ने अभियानतिर लाग्नु राम्रो हो । तर खाली गरिएको र सार्वजनिक प्रयोगमा रहेको संरचनामा परिवर्तन गर्दा सर्वसाधारण र साविकको गतिविधिमा असहज हुने गरी गर्र्नु हुदैन ।

कुनै पनि पक्षको शालिक राख्ने कार्यले सधै उत्तिकै महत्व पाउँदैन कि भन्नेतर्फ पनि सजग हुनु पर्दछ । हिजो पनि यस्ता शालिकहरुप्रति जनवितृष्ण सृजना भएर ढालिएका उदाहरण हामीले नै भोगेका छौँ भने हामीले राखेको शालिक वा संरचनाप्रति सधैं सबैलाई उत्तिकै सम्मान र आस्था कायम हुन्छ भन्ने कुराको पनि कुनै पनि प्रत्याभूति हुँदैन ।


देश निर्माण र देशको अस्तित्व कायम राख्ने बलिदान दिने विभूतिहरुको शालिक स्थापना गर्ने विषयलाई विवादको विषय बनाउनु हुदैन । तर त्यसको लागि उपयुक्त स्थान, विधि र समयमा भने पक्कै विचार पुरयाउनु पर्दछ । कुनै अनुसन्धानबाट प्रमाणित भई सोही स्थान विशेषमा पहिले रहेको शालिक पुनस्र्थापना गर्नु पर्ने अवस्था आएको हो ? वा विकल्प विहीन अवस्था हो ? यसमा आमजनसमर्थन छ ? कुनै जाति, वर्ग, क्षेत्र, धर्म, लिंग र पक्षको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन ? यस्तो कुरामा बहुमत गोरखालीहरुको जनमत छ ?


हिजो त्यसै सडकलाई आधार मानेर विस्तार गरिएका सडक, स्कुल, मन्दिर, निजी आवास, अस्पताल आदिको पुर्नस्थापना गर्ने योजना सहित यो कामको थालनी गरिएको हो? भोली कुनै प्रकोपमा दमकल, एमबुलेन्स, पानीटयांकर लगायतका सवारी साधन पुग्न नसक्दा हुने क्षतिको कल्पना गरिएको छ ? यसका लागि दीर्घकालिन अवधारणा र हाल सो सडक उपभोग गर्ने पक्षहरुसँग संवाद गरिएको छ ? यस निर्णयबाट लाभ लिने पक्षहरु कति हुन्छन् र क्षति ब्यहोर्ने पक्ष कति हुन्छन्? यस्ता प्रश्नहरुको जवाफ कार्यान्वयन पक्षले बेलैमा सोच्न आवश्यक छ ।


हालै राम्रो जनमत प्राप्त गरेर निर्वाचित गोरखा नगरपालिका नेतृत्वको आफनै सोच, दुरदष्टि र योजना होलान् । त्यसले मृर्त रुप लिन पाउनु पर्ने कुरामा कुनै दईमत छैन । स्थानीय सरकारका हरेक राम्रा योजनामा साथ दिनु स्थानीयवासीहरुको कर्तब्य पनि हो । तर कुनै पनि क्षेत्रको विकास गर्नु पूर्व जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा निकास दिनु जरुरी छ । प्रयोगमा रहेको सडक विस्तारको सटटा अतिक्रमण गर्ने, सयौं बर्षदेखि त्यही परिसरमा बसोवास गर्ने निरह जनतालाई यस्ता निर्णयका कारण समस्या बेहोर्नु पर्ने अवस्था, आदिबासीहरुको आफ्नो स्वाभिमान माथिको अतिक्रमणको आभाष हुने अवस्था भने सृजना हुन हुदैंन ।


बरु गोरखकाली मन्दिर, गणेशस्थान, गोरखनाथ गुफा, रामशाह चौतारो, महादेवस्थान परिसर, रानीपोखरी, गोरखा संग्रहालय लगायतका सबैलाई एकीकृत परियोजनाको रुपमा विकास गर्ने दीर्घकालीन गुरु योजना बनाएर सम्पदाहरुको संबद्र्धन र प्रवर्धन गर्दै पर्यटन विकासको गर्ने काममा लाग्नु जरुरी छ । गोरखाको भूगोल सुहाउँदो सडक सञ्जाल र बस्ती योजना तयार गरी विस्तारै पुरातात्विक क्षेत्रमा पैदलयात्रा, केवलकार, घोडा सवारी लगायतका पर्यटकीय आकर्षणको उपायहरु अवलम्बन गर्नु जरुरी देखिन्छ ।

वर्तमानको समस्यालाई निकास नदिईकन विकासको फडको मार्न खोज्दा सबै दुर्घटनामा पर्न सक्ने अवस्था हुने भएकोले सर्वप्रथम हाल बसेका बस्ती र समुदायलाई समस्या नहुने गरी पर्याप्त सडक सञ्जालको व्यवस्था गरेर मात्र भएको संरचना अतिक्रमण गर्नु बुद्धिमानी हो भन्ने तथ्यमा जोड दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्