| शुक्रबार, बैशाख २१, २०८१

गोरखा सदरमुकामको सडक जताततै खाल्डाखुल्डी, सर्वसाधारणलाई सास्ती (फोटो फिचर)

केशव गुरुङ

गोरखा सदरमुकामका सडकमा जताततै ठूलठूला खाल्डाखुल्डी हुँदा आमसर्वसाधारण र सवारी चालकहरुलाई धेरै सास्ती खेप्नु परेको छ । पेट्रोलपम्प, हरमटारीचोक, जिविसचोक, घ्याम्पेसालचोक, पुरानो बसपार्क र गोरखा दरबार जाने बाटो बाटोमा जताततै खाल्डाखुल्डी हुँदा आवतजावतमा धेरै समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।

अति व्यस्त र बढी चाप भएको सदरमुकामभित्रको सडकहरुमा जताततै खाल्डाखुल्डी हुनाले यहाँका जनताले धेरै सास्ती खेप्नु परेको घ्याम्पेसालचोकका कपडा व्यवसायी शान्ति अर्यालले बताइन् । ‘यो सदरमुकामको एकदम व्यस्त सडक सडक हो । यहाँ माथि सरकारी हस्पिटल छ । यो बाटोमा सँधै दिनरात एम्बुलेन्स हिड्नुपर्छ, तर बाटो जताततै खाल्डाखुल्डी हुँदा घाइते, सुत्केरी, बिरामीलाई यात्रा गर्न धेरै समस्या भएको छ’, उनले भनिन् ।

पुरानो बसपार्कमा रहेको खाडल

घ्याम्पेसालचोकदेखि हरमटारी चोकसम्मको सडक माथि बर्खामा ठूलो भेल बगेर खाल्डाखुल्डी बनाएको तर भत्किएको सडक र नाला अहिलेसम्म अलपत्र अवस्थामा छोडेकोे उनले बताइन् । सडक मर्मत कार्य अघि नबढाउँदा स्थानीयहरु धुवाँ र धुलोको चपेटामा बस्न बाध्य भएको पनि उनले जानकारी दिइन् ।

सोहि सडकखण्डमा सवारी चलाउने चालक नवराज अधिकारी गोरखा सदरमुकाममा सम्बन्धित निकायले बेवास्ता गर्दा जताततै खाल्डाखुल्डी बढ्दै गएको तर मर्मतसम्भार नभएको बताउँछन् । ‘गोरखा बजार भन्दा टाढा गाउँ एरियामा बरु धेरै राम्रो बन्दै गाएको छ, तर बजार एरियामा भने झन समस्या थपिन्दै गएको छ’, उनले भने, ‘हरमटारी, तल पेट्रोल पम्प र गोरखा दरबार जाने बाटो सडकखण्डमा ठूलठूला खाल्डाखुल्डी परेको तर सम्बन्धित निकायले ध्यान दिइरहेको छैन ।’

हरमटारी स्थित रंगशाला जाने गेट अगाडि रहेको खाडल

स्थानीय तह र सडक विभागको हेलचेत्र्mयाइँका कारण जनताले दुख पाएको उनको बताए । सडक बरिपरि, बीचमा भएका ठूला खाल्डाका कारण गाडीहरु ठोक्किने, लडिने र सवारी दुर्घटना हुने सम्भवना अत्यन्तै बढ्दै गएको उनले जानकारी दिए । साथै गाडी चाँडैचाँडै बिग्रिने र गाडीको आयु पनि छोटिने उनको गुनासो छ ।

हरमटारी देखि घ्याम्पेसालचोक सम्म जाने सडकखण्डमा परेको खाल्डो

हरमटारीमा फलपूmल व्यवसायी संचालन गर्दै आएकी मिरा पन्तले ठूला खाल्डाखुल्डी पुर्न हेलचेक्र्याइँ गर्दा मानिस पटक पटक लड्ने गरेको बताइन् । विशेष गरेर साना बालबालिका र गर्भवती, सुत्केरी महिलाहरु अस्पतालसम्म पुग्न पनि धेरै समस्या भएकाले तत्काल सडकको खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्ने उनले बताइन् ।

सदरमुकामका स्थानीय गोविन्दकाजी अर्याले पनि सबैतिर खाल्डाखुल्डी हुँदा मानिसहरु गाडीमा हिड्न पनि असजिलो भएको बताए । सबैतिर खाल्डाखुल्डी हुँदा साना गाडीहरुलाई समेत साइट दिन समस्या हुने गरेको बताउदै विगत ७÷८ महिनादेखि यो सडकखण्डमा ठूलठूला खाल्डाखुल्डी परेको बताए । बजार क्षेत्रको अति व्यस्त र गाडीको धेरै चाप हुने यो सडक निर्माणमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ ।

मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय जाने सडकखण्ड ।

सदरमुकाम नजिकै रहेको सरकारी अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका ठूलाठूला सरकारी कार्यालयहरुमा जाने सडक समेत खाल्डाखुल्डी हुँदा कार्यालयमा सेवा लिन आउने सेवाग्राही दिनहु सास्ती खेप्नुपरेको छ । सम्बन्धित निकाय पदाधिकारीहरु सोहि बाटो भएर आउजाउ गर्छन् । तर उनीहरुले ती समस्याहरु आँखाले टुलुटुलु मात्र हेरेर नदेखेझै गरिहेका छन् ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर रानाले अव केही महिनाभित्र नै सो सडक खण्डमा परेका खाल्डाहरु पुर्ने बताएका छन् । नगरपालिकाले सडक विभागलाई खाल्डाखुल्डी पुर्न पटक पटक आग्रह गरे पनि काम नभएकाले नगरपालिकाले नै सदरमुकामका खाल्डाखुल्डी भएका स्थानहरु पुर्ने उनले बताए । सडकका खाल्डाखुल्डीले सर्वसाधारणको ज्यान जोखिममा हुने भएकाले अव छिट्टै ती खाल्डाहरु पुर्न प्रक्रिया अगाडि बढाइने नगरप्रमुख रानाले जानकारी दिए । ्

प्रतिक्रिया दिनुहोस्