| शुक्रबार, बैशाख २१, २०८१

सांसद बजगाईँद्वारा ५६ वटा वडालाई स्टेचर वितरण

गोरखा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले आफ्नो निर्वाचन क्षेत्रका ५६ वटा वडाका लागि स्ट्रेचर वितरण गरेका छन् ।

आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा सांसद बजगाईँले जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामार्फत सो स्ट्रेचर हस्तान्तरण गरेका हुन् ।

बिरामी, सुत्केरी तथा घाइतेलाई तत्काल उद्धार गर्न सजिलो होस् भन्ने उद्देश्यले स्ट्रेचर उपलब्ध गराएको उनले बताए ।
गोरखा १ को चुमनुब्री गाउँपालिका सडक सञ्जालसित जोडिएको छै भने धार्चे गाउँपालिकाको पनि अधिकांश गाउँबस्तीमा यातायातको सुविधा छैन ।

सुगमका बस्तीमा पनि भनेका बेला एम्बुलेन्स तथा अन्य सवारी साधन उपलब्ध हुन नसक्ने हुँदा स्ट्रेचर उपयोगी हुने उनको भनाइ थियो ।

प्रत्येक वडालाई एकेक वटा पुग्ने गरी ५६ वटा स्टेचर हस्तान्तरण गरिएको हो । समय समयमा आफू गाउँबस्तीमा जाँदा बिरामी बोक्ने स्ट्रेचरको अति आवश्यकता महशुस गरेकाले चुनाव जिते लगत्तै यो वितरण गरिएको उनको भनाइ छ ।

दुर दराजका गाउँबस्तीहरुमा आगामी दिनमा आवश्यकताअनुसार स्वास्थ्य सामग्रीसँगै अन्य सामग्रीहरु पनि उपलब्ध गराउदै जाने उनले प्रतिबद्धता जनाए ।

सडक सञ्जालले नछोएका चुमनुब्री तथा धार्चेका गम्भीर घाइते, बिरामी तथा सुत्केरी हुन नसकेर बिचल्लीमा परेकी महिलाहरुलाई हेलिकप्टरबाट उद्धार गर्न यसअघिदेखि उनले समन्वय र सहयोग गर्दै आएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरले चुनाव जिते लगत्तै जनताको पिर मर्कालाई सम्बोधन र्ग स्वास्थ्य सामग्री सहयोग गरेकामा सांसद बजगाईँप्रति आभार व्यक्त गरे । उक्त सामग्री जिसस मार्फत वडाहरुमा हस्तान्तरण हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्