| आइतवार, माघ १५, २०७९

विविध घटनाहरुले उब्जाएका प्रश्नहरु

केदार खनाल प्रहरी उपरीक्षक :

घटना समाजमानै घट्ने गर्दछन् । घटना घट्नु पछाडिका कारण र तथ्यहरुबाट घटनाहरुको विश्लेषण गर्न सकिन्छ । कतिपय घटनाहरु परिस्थितिजन्य हुन्छन् भने कतिपय आकस्मिक हुन्छन । माघ १ गते एति एयरको जहाज दुर्घटना अहिले सबैको मन मस्तिष्कमा भयानक पीडा, डर, त्रास पेदा गरेको छ ।

हवाई अड्डाले नियन्त्रण र संचालन गर्ने पाईलटलाई होला ? तर निर्दोस जनता गन्तव्य पुग्नै लाग्दा विभत्स र भिषण आगोको सिकार भएका यात्रुहरुसँग क्षमा माग्ने कुनै संयन्त्र होला र ! सडकमा गुड्ने सबै सवारी साधनहरुलाई सदैव निग्रानी गरिरहने संयन्त्रहरु आकाशमा उड्ने जहाजको दुर्दसा देख्दा छुट्टै हुटहुटी पैदा भएको छ ।

जमिनमा होस या आकाशमा नियमन गर्ने निकाय सक्रिय हुन जरुरी छ । घटना घटि सके पछि दोष भागि हुन बाट बच्न विविध उपायहरु अबलम्बन गर्नु भन्दा घटना हुन नदिन खेलिएका भूमिका र भावी दिनहरुमा हुन सक्ने घटनाहरुको आकलन बिचको तादभ्यतालाई हेर्न जरुरी छ ।

निर्दोष र अनाहक मानवीय क्षेतिले हाम्रो संरचना माथि खिसिट्युरी गरेको तथ्य सबैको सामु छर्लङ्ग छ । नयाँ सडक , नयाँ एयरपोर्ट बनाउदैमा हामी सम्पन्न भएका छैनौ । हाल सम्मको हवाई दुर्घटना लाई हेर्ने हो भने लगभग ५०० (पाँच सय) को हाराहारिमा मानिसको जनाको मृत्यू भएको छ ।

अझ सवारी दुर्घटनालाई हेर्दा ६ वर्षको अवधिमा लगभग १३,००० (तेह्र हजार) जति ब्यक्तिको मृत्यू भैसकेको छ । जवसम्म जिम्मेवारिता, दायित्व र स्वं अनुशासनको पालना हुदैन, हामी पुरानै विरासत धानिरहेका हुन्छौ । यो भनिरहँदा कतिपय अवस्थामा असहज मृत्यूहरुलाई स्वीकार गर्नु भन्दा अर्को उपाय हामीहरुसँग नहुने भएता पनि यस्ता घटनाहरु घटिरहँदा छानबिनका केहि दायराहरु मात्रै कामयावी हुन्छन भन्ने पनि नहोला ? वर्षेनी घटनाहरु घट्दै जाने समाधान छानबिन मात्र भयो भने परिणाम शुन्य हुन जाने कुरामा दुई मत हुदैन ।

जे होस, अनाहकमा नेपालीहरुले मृत्यूलाई वरण गर्ने यो अवस्था संम्भवत यमराजले पनि कल्पना गर्न नसक्ने अवस्था हुन सक्छ । तसर्थ हामीले जुनसुकै यातायात क्षेत्रलाई सहि ढंगबाट नियमन, अनुगमन र संचालन गर्न सकियो भने भोली फेरी यस्तो दुःखद र त्रासदिका दिन देख्न पर्दैन की ? कामना गरौ । यति भनिरहँदा सोही दिन सल्यानमा मामाले भन्जालाई आफ्नो कुल देवताको मन्दिरमा वली दिएको घटना पटाक्षेय हुन आयो ।

वनगाड कुपिन्डे नगरपालिका वडा नं. १० भाझकाडाका २४ वर्षिय मामा डम्वर पुरीले आफ्नै छोरासँग खेलिरहेको ८ वर्षिय भान्जा रिजन घर्तीलाई मन्दिरमा लगि बली दिएका छन् । यसले हामी र हाम्रो सामाजिक धरातललाई नराम्रोसँग औला ठड्याएको छ ।

हामीले अंगालेको सोच, धारणा र विचारहरु विवेक सुन्य र संवेदनहीन हुदै गईरहेको आभाष हुन्छ । के त्यहाँको समाजको चरित्र त्यही हो त ? होईन भने एउटा बहुलठ्ठी पागलले गर्ने कार्यलाई स्थानीय समाजले किन रोक्न सकेन ? यदि मानिसमा पागल पन भरिएको थियो भने अभिभावक, स्थानीय तह, समाज किन मुकदर्शक बन्यो ? यत्रो घटनाको पटाक्षेय हुँदा केहि न केहि पूर्व सूचना हुन्छ, खोई त्यसको ब्यवस्थापन ? धार्मिक आडम्बर एकतर्फ होला तर ब्यक्तिको बहुलठ्ठीका साथै सामाजिक दुर्गुणले एउटा जीवन्त समाजलाई कालो पोतेको छ ।

यसलाई धार्मिक आडम्बर भन्न सुहाउदैन कि ब्यक्तिको पागलपनले घटाएको घटना हो । माथि भनिए जस्तै घर, परिवार, समाज, स्थानीय जनप्रतिनिधि सबै उसको ब्यक्तिगत गतिबिधिबाट टाढा भए जस्तो लाग्दैन । यदि ब्यक्तिमा देखिएका अस्वभाविक क्रियाकलाप थियो भने उसको ईलाज गर्न किन खोजिएन ? यस्ले प्रश्न उठ्छ कि समाजका सवै ब्यक्ति घटना घट्नुका पछाडिका मतियार हुन भन्न द्धिविधा हुदैन ।


माथिको दारुण ब्यथामा पीडावोध गर्दै गर्दा जिल्ला तनहुँ भानु नगरपालिका वडा नं ६ टुहुरे पसलमा माघ २ गते त्यस्तै विभत्स घटना घट्न पुग्यो । टुहुरे पसल बस्ने वर्ष ४९ का सन्त बहादुर गुरुङको घरबाट खुडा निकालेर निजलाई नै प्रहार गर्ने व्यास नगरपालिका ८ रिस्तिका आशिष परियार प्रहरी नियन्त्रणमा छन् । विचरा सन्त बहादुर गुरुङको अनाहकमा हत्या भएको छ । यो हत्या पछाडि को र कस्को संलग्नता छ होला भनि खोजीनीति गर्नु पूर्व हतियार प्रहार गर्ने व्यक्ति, झारफुक गर्ने झाँक्री र उसको परिवारलाई कानूनको दायरामा ल्याउनु जरुरी छ । एउटा पागल ब्यक्तिलाई लग्ने भनेको अस्पताल हो । दिमाखले काम नगरेको ब्यक्तिलाई देखादेखि छाडा छोडिदिदा उसले एउटा न एउटा घटना घटाउछ नै ।

एउटा हुँदोखादो आफ्नो जीविकोपार्जन गरिरहेको सन्त बहादुर गुरुङलाई कुनै रिसिईवी, झगडाविना नै मुला काटे झै काट्ने परियार मानसिक रुपमा विक्षिप्त नै हुन भन्न द्धिविधा हुदैछ । यस्तो ब्यक्तिलाई घर, परिवार, स्थानीय जनप्रतिनिधि, समाजले कहाँ कसरी र कुन हिसावले सामाजीक वन्धनमा राख्न सक्यो ? अथवा उपचार गर्न कुनै अस्पताल पठाउन सक्यो ? यि र यस्ता घटनाहरुले समाज केवल रमिते बन्दै गएको आभाष मिल्छ । यस्ता ब्यक्तिहरु कुनै एक ब्यक्तिका लागि मात्र शत्रु नभई समग्र समाजका कलंक हुन् । समयमानै चिनेर सही समाधान तर्फ लाग्नु श्रेयस्कर हुन्छ ।


माथि उल्लेखित तीनवटा घटनाहरुको तथ्य, कारण, भुगोल फरक–फरक छन् तर मानवीय क्षेती हेर्दा हाम्रो समाजको चरित्र भूमिका, ब्यवहार कतै न कतै घटनाहरुको कारण देखिएको त छैन, प्रश्न उब्जिएको छ । आफू पनि नजान्ने, अरुले भनेको पनि नमान्ने जस्तो प्रवृती हामीसँग रहिरहनु नितान्त गलत छ । समाजका हरेक पक्षहरुलाई नजिकबाट नियाल्नु सबै पक्षको उत्तरदायित्व हो ।

यसमा घर परिवार, समाज, सुरक्षामा खटिएका संयन्त्रहरु र राज्य स्वयं जिम्मेवारिताबाट पन्छन मिल्छ जस्तो लाग्दैन । जानेर–नजानेर, बुझेर–नबुझेर, सोचेर– नसोचेर भएका गल्ति कमिकमजोरीहरु हाम्रै लागि घातक छन् भन्ने कुरा हेक्का राख्नु जरुरी छ । गलतलाई गलत नै हो भनि सोच्दै निराकरणको वारेमा तत्काल जिम्मेवारिता वोध गरौ । यस्ता घटनाहरु नघट्न तर्फ सबै तह जिम्मेवारीका साथ सचेत होऔ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्