| आइतवार, माघ १५, २०७९

नवजागृति चण्डी माविको विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुदाँ विद्यार्थीहरु अस्थायी टहरामै

केशव गुरुङ :

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङस्थित नवजागृति चण्डी माविका विद्यार्थीहरु अस्थायी टहरा(टिएलसी)मै पढ्न बाध्य छन् । भूकम्प गएको सातवर्ष वितिसक्दा पनि भवन पुनर्निर्माण कार्यले पूर्णता नपाउँदा विद्यार्थीहरु टहरामै पढ्न बाध्य भएका हुन् ।

०७२ सालको भूकम्पले क्षति पु¥याएको विद्यालयको भवनमा प्रवलीकरण अन्र्तगत पुनर्निर्माण भइरहेको छ । एशियाली विकास वैंक (एडिबी) को आर्थिक सहयोगामा केन्द्रीय आयोजना कार्यान्वय इकाइमार्पmत पुनर्निर्माण भइरहेको भवन काम समयमै सम्पन्न हुन नसक्दा विद्यार्थीहरु अस्थायी भवन पढ्न बाध्य रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले बताए । भवन समयमै सम्पन्न हुने अवस्था नदेखिएको बताउँदै विद्यार्थी अझै टहरामा बढनुपर्दा शैक्षिकस्तरमा अवरोध भएको उनले बताए ।

उनका अनुसार विगत १० महिनादेखि विद्यार्थीहरु अस्थायी टहरामा बसेर पढ्दै आएका छन् ।
‘विद्यार्थीको संख्या धेरै छ, आठ, नौ र दश कक्षामा सेक्सन छुट्याएर पढाइरहेका छौँ, भवन नहँुदा एउटा कक्षाको आवाज अर्को कोठामा सुनिन्छ’, उनले भने । विद्यालय भवनमा निर्माण प्रयोग गरिने सामग्रीहरु छरपस्ट भएकाले विद्यार्थीहरु बाहिर हिँडडुल गर्न पनि समस्या हुने गरेको उनले बताए ।

विद्यालयभन्दा माथिल्लो पट्टिको २१ कोठे ठूलो भवन र तलपट्टिको कक्षा ११, १२ को कक्षाकोठा भवन अहिले पुनर्निर्माण भइरहेको छ । तीन वटा भवनको २५ वटा कोठामा रेक्ट्रोफिटिङको काम भइरहेको प्रधानाध्यापक पाण्डेले बताए । संघीय आयोजना कार्यान्वयन इकाइमार्फत ४ करोडको लागतमा प्रवलीकरण गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले भवनको पिल्लर राख्ने लगायका काम भइरहेको छ । प्रवलीकरणको म्याद २०२३ जनवरीसम्म मात्र रहेको तर काम सम्पन्न हुन अभैm धेरै समय लाग्ने जस्तो देखिएको उनले बताए ।

विद्यालयको तल पट्टी रहेको कक्षा ११ र १२ लाई पढाउने गरेको भवन ०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो । भूकम्पले भवनको विम भाँचिएको साथै कक्षाकोठाभित्र पानी चुहिने गरेको उनले बताए । ती भवनलाई हटाएर नयाँ भवन बनाउन पनि नसकिने भएकाले त्यसलाई प्रवलीकरणमार्फत पुनर्निर्माण गर्न लागिएको उनको भनाइ छ ।

भीमसेनथापा गाउँपालिकामा सबै भन्दा धेरै विद्यार्थी नवजागृति चण्डी मावि रहेको बताउँदै भवन पुनर्निर्माण ढिलाई हँुदा विद्यालयको शैक्षिक स्तरमा असर परेको उनले जानकारी दिए । उनका अनुसार हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्ममा चार सय ५० जना विद्यार्थी अध्ययनरत छन् । अहिले कक्षा एकदेखि नौँ, दश कक्षा अहिले टहरामै बढिरहेका छन् । त्यस्तै, नर्सरी, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई भने जाइकाले निर्माण गरिदिएको भवनमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्