| आइतवार, माघ १५, २०७९

उलाजुङ युवा क्लवले जित्यो रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि

गोरखाको धार्चे गाउँपालिका वडा नं ५ रेसे खोलामा भएको रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लव चित्रेले जितेको छ । उपाधि विजेता उलाजुङ युवा क्लवले नगद ६० हजार सहित कप, मेडल र प्रमाणपत्र पाएको मेलाका कार्यक्रम संयोजक राज गुरुङले बताए ।

प्रतियोगितामा सृजनशील युवा समाज लाप्राक दोस्रो भए भने श्री धार्चेमुनि टाढी युवा क्लव लापु तेस्रो भएको छ । उनीहरुले क्रमश ४० हजार र २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, महिलातर्फको उपाधि पनि उलाजुङ युवा क्लाव बारपाकसुलिकोट चित्रेले हात पारेका छन् । उनीहरुले नगद १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक गुरुङले बताए ।

भलिबल प्रतियोगितामा जनसेवा युवा क्लव सिङला दोस्रो र योङ्गर युवा क्लव गुम्दा तेस्रो भएको उनले बताए । उनीहरुले क्रमश १२ हजार र ८ हजार सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ र आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

माघ २ गतेबाट सुरु भएको पुरुष र महिला तर्फ खुल्ला भलिबल प्रतियोगिता ५ गते सम्पन्न भएको हो ।

त्यस्तै, गाउँस्तरीय नृत्य प्रतियोगितामा लाप्राकका समृद्ध र समृद्धा गुरुङ प्रथम, गुम्दाका सुस्मिता सुनार दोस्रो र लाप्राकका सिर्जना गुरुङ तेस्रो भएका छन् । उनीहरुलाइ नगद सहित प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

जनसेवा क्लवको आयोजनामा रेसे सिङ्ला माघे सङक्राति मेला मूल आयोजक समितिले मेला सम्पन्न गरेको कार्यक्रम संयोजक गुरुङले बताए ।

मेलाको विशेष आकर्षणको रुपमा प्याराग्लाडिङ समेत उडाएका थिए । विगतमा रेसे खोलामा हुने गरेको माघेसक्रान्ति मेला विविध कारणले ६ वर्षदेखि सिङलामा सरेको थियो । अहिले ६ वर्षपछि फेरि पुरानौ स्थान रेसे खोलामा मेला आयोजना गरिएको कार्यक्रम संयोजक राज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्