| आइतवार, माघ १५, २०७९

फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने

कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष गोरखामा हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कपको सातौँ श्रृङ्खला आउँदो फागुन ७ गतेबाट गर्न लागिएको आयोजक हरमटारी क्लवले जनाएको छ । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलनमा सो क्लवले सातौँ गोर्खाली रनिङ कप २०७९ हुने जानकारी गराएको हो ।

फागुन ७ गतेदेखि १४ गतेसम्म हुने गोर्खाली रनिङ कपमा राष्ट्रिय स्तरका विभिन्न क्लवका साथै गोरखाका स्थानीय क्लबहरु गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्ने क्लवका महासचिव किरण ढकालले बताए । जिल्लाभित्र सक्षम तथा स्तरीय खेलाडी तयार गरी बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न गोर्खाली रनिङ कपलाई निरन्तरता दिएको उनले बताए ।
गोर्खाली कप २०७० सालबाट सुरु भएको उनले बताए । सातौं रनिङ कपमा केही नयाँपन समेत दिने तयारी गरिएको आयोजकले बताएको छ ।

हरमटारीस्थित खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता संचालनका लागि २५ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । सोमध्य दुईलाख आयोजकले संस्थाले बेर्होने र अन्य रकम सहयोगी तथा प्रायोजकहरुबाट संकलन गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष जीवन गुरुङले बताए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार २२२ रुपैया र उपविजेता नगद एक लाख ११ हजार १११ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै, सेमिफाइनलिष्ट हुने दुई टिमले क्रमश ५०÷५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई रु ७ हजार ५ सय÷७ हजार ५ सयका दरले नगद पुरस्कार सहितसम्मान गरिने उनले बताए ।

त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्याद अफ द म्याच घोषित गरी नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

विद्यमान आर्थिक मन्दील्े सबैतिर व्यापार, व्यवसाय धराशायी भइरहेका कारण यो वर्ष पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्न नसकिएको उनले बताए ।

गोर्खाली रनिङ प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता गर्न प्रत्येक टिमले २५ हजार शुल्क बुझाउनेपर्ने छ ।
प्रतियोगिताको उद्घाटनका दिनमा महिला समूहलाई पनि समावेश गर्ने आयोजकले योजना बताएको छ । जिल्लाभित्रबाट कम्तिमा एउटा महिला टिम निर्माण गर्ने र जिल्लाबाहिरबाट अर्को टिम भित्र्याएर मैत्रीपूर्ण खेल गर्ने तयारी गरिएको हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङले बताए ।

हरमटारी क्लवले हाल जिल्लाभित्रका महिला खेलाडी व्यवसायिक रुपमा फुटबल खेलाडी उत्पादनका लागि तालिम दिइरहेको गुरुङले बताए ।
प्रतियोगिता अवलोकनका लागि हरेक व्यक्तिबाट रु २० रुपैया टिकटको व्यवस्था गरिएको आयोजक हरमटारी क्लव गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्