| आइतवार, माघ १५, २०७९

उत्तरी गोरखाको प्राचीन पुङ्चे हिनाङ गुम्बामा आगलागी

चुमनुब्री गाउँपालिका २ हिनाङको पुङ्चे गुम्बामा आगालागी भएको छ । मंगलबार दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले जानकारी दिए ।

ल्हो, ल्ही र स्यो बस्तीबाट पनि सो गुम्बा धेरै टाढा रहेको र सञ्चार सुविधा पनि नभएका कारण पछिल्लो अबस्थाको बारेमा जानकारी पाउन समस्या भएको वडाअध्यक्ष लामाले जानकारी दिए । ‘दुईसय बर्ष पुरानो पुङ्चे गुम्बामा आगालागी भएको छ भन्ने जानकारी आयो’, उनले भने, ‘ठूलो आगालागी भएको छ भनेर फोन आयो । पछि यताबाट फोन गर्दा संपर्क पनि हुन सकेको छैन ।’

आगालागी भएको जानकारी आएपछि प्रहरी पठाइएको एसपी केदार खनालले जानकारी दिए । चौकीबाट हिनाङमा प्रहरी पुग्न पाँच, छ घण्टासम्म लाग्ने भएकाले विस्तृत जानकारी आउन नसकेको उनले बताए ।

यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक हो । जानकारहरुका अनुसार यो दुईसय बर्ष पुरानो गुम्बा हो । यहाँ माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु आवासीय रुपमा बस्छन् । अरु धेरै भिक्षु, भिक्षुणीहरु पनि यहाँ बस्छन् । गाउँबस्तीबाट धेरै टाढा, जंगल अग्ला पहाडको बीचमा रहेकाले यो गुम्बा विशेष गरी ध्यानकेन्द्रको रुपमा प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्