| आइतवार, जेष्ठ ६, २०८१

सतिपिपल क्लव गोर्खाली रनिङ कपको फाईनलमा

सतिपिपल युथ क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा खोप्लाङ एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सतिपिपलले फाईनल यात्रा तय गरेको हो ।

यससँगै गोर्खाली रनिङ कपको फाईनलमा आयोजक हरमटारी क्लव ए र सतिपिपल युथ क्लव भिड्ने भएका छन् । शनिवार दिउँसो ३ बजे फाईनल खेल हुने हरमटारी क्लवका महासचिव किरण ढकालले बताए ।

शुक्रवार खोप्लाङ एफ सी र सतिपिपल युथ क्लवको खेल हेर्न अन्य दिन भन्दा दर्शको बाक्लो उपस्थिती थियो । पहिलो हाफ २–० गोल अन्तरले अगाडी रहेको सतिपिपलले दोस्रो हाफमा २ गोल थप्यो भने खोप्लाङले १ मात्रै गोल फर्कायो ।

खेल सुरु भएलगत्तै खोप्लाङ एफसीका किपर झुक्किँदा हुन पुगेको गोलबाट सतिपिपलले अग्रता लिएपछि खोप्लाङ लयमा फर्कन सकेन । पहिलो हाफ सतिपिपले दबावमा राखेको थियो । दोस्रो हाफमा खोप्लाङले खेल सुधार गरेपनि नतिजा ल्याउन सकेन । खोप्लाङले केही सुनौलो मौका गोल हुनबाट गुमाएको थियो ।

सतिपिपललाई फाईनल यात्रा तय गराउन बिक्की चाम्लीङ राईले २ गोल गरे । उनी उक्त खेलमा म्यान अफ द म्याच समेत घोषित भए । सतिपिपलकालागि कृपा गुरुङले १ गोल र बिदेशी खेलाडीले १ गोल गरेका थिए । खोप्लाङकालागि समिन थापाले १ गोल गरे । शुक्रवारको खेलमा सतिपिपल सँग पराजित खोप्लाङ एफसीले नगद ५० हजार पाउने भएको छ भने बिजेता सतिपिपले शनिवार फाईनल खेल्नेछ ।

गोर्खाली रनिङ कपको बिजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने उप बिजेताले एक लाख ११ हजार एक सय ११ मा चित्त बुझाउनेछ । खेल अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने, धेरै गोलकर्ता लगायत बिभिन्न विधामा नगद पुरस्कार दिईने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्