| आइतवार, जेष्ठ ६, २०८१

गोरखा नगरपालिका भित्र शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने

गोरखा नगरपालिका भित्र फागुन १३ गते शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने भएको छ । यो बुस्टर डोज खोप हो । एक पटक खोप लगाएर दोस्रो पटक नलगाएका, दोस्रो पटक लगाएर तेस्रो मात्रा नलगाएकाले पनि खोप लगाउन सक्नेछन् । तेस्रो मात्रा लगाएकालेपनि चौँथो मात्राका रुपमा खोप लगाउन सक्ने जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।

‘एउटा पनि खोप नलगाएकालेपनि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन सक्नुहुनेछ’ उनले भने । बुस्टर डोज फाईजर खोप लगाउने अभियान शनिवार गोरखा अस्पतालमा रहेको संस्थागत खोप क्लिनिकबाट सुरु हुनेछ । आईतवारदेखि भने नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थामा खोप लगाउन सकिनेछ । यो अभियान १६ गते सम्म चल्नेछ ।

यसअघि लगाएको खोप कार्ड वा कहाँ खोप लगाएको हो त्यहाँबाट रेकर्ड लिएर फाईजर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि जुन खोप लगाएको भएपनि उनीहरुले यो खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

गोरखाको अन्य स्थानीय तहबाट फाईजर खोपको माग नभएकाले अहिले गोरखा नगरपालिका भित्र मात्रै यो अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले बताए । ‘अहिले छ सय भाईल अर्थात तीन हजार छ सय मात्रा खोप हामीसँग छ’ उनले भने ‘अन्य पालिकाबाट माग भयो भने खोप थप आउनेछ ।’

पछिल्लो समय खोप लगाउनेको संख्या घट्दो रहेको उनले बताए । गोरखामा अहिले सम्म पहिलो मात्रा लगाउने ७९ प्रतिशत, दोस्रो मात्रा लगाउने ७६ प्रतिशत र तेस्रो मात्रा लगाउने ४३ प्रतिशत छन् । यो तथ्याङ्कभन्दा धेरैले खोप लगाएको अनुमान स्वास्थ्य कार्यालयको छ । यकिन बिवरण नहुँदा सही तथ्याङ्क आएको छैन ।

खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले खोपको कोल्चेन ब्यवस्थापन राम्रो सँग गर्नुपर्ने, लक्षित समुह कुनैपनि खोपबाट छुट्न नहुने, कुनकुन ठाउँमा कसरी खोप चल्छ भन्ने सुचना अग्रीम प्रकाशन प्रशारण गरेर सुसुचित गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्