| शनिबार, बैशाख २२, २०८१

उहियाका ओम गुरुङद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण

धार्चे गाउँपालिका वडा नं ३ उहिया दुङ्लाका ओम(माइला) गुरुङले सगरमाथा हिमालको सफल आरोहण गरेका छन् । २४ वर्षीय गुरुङले मंगलबार दिउसो २ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

आठ हजार मिटर अग्लो हिमाल सफल आरोहण गरेको यो उनको पहिलो अनुभव हो । उनले यसअघि २०७९ सालमा मनास्लु आरोहणको प्रयास गरेपनि खराब मौसमका कारण क्याम्प चारबाट फर्किनुपरेको थियो । पर्यटन क्षेत्रमा आवद्ध भएका उनी छोटो समयमै विश्वको अग्लो सगरमाथा आरोहण गर्न सफल भएका हुन् ।

सगरमाथाको सफल आरोहणसँगै अब केही महिनामा सात हजार भन्दा अग्लो विदेशमा रहेको हिमाल चढ्ने तयारीमा रहेको समेत उनले सुनाए ।

आफना गाउँमा दाजुभाई ट्रेकिङ क्षेत्रमा आबद्ध भएता पनि हिमाल आरोहणको क्षेत्रमा लागेर सगरमाथा सफल आरोहण गर्ने उनी उहिया गाउँको पहिलो व्यक्ति हुन् ।

हिमाल चढ्न संघर्ष र दुख गर्नुपर्ने भएता पनि आफनो इच्छा हिमाल आरोहण गर्ने भएकाले सगरमाथा आरोहण गर्न सफल भएको उनी सुनाउँछन् । यसपटक उनले पायोनियर एडभेन्चरबाट सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्