| सोमवार, फाल्गुन २१, २०८०

धार्चे गाउँपालिकामा स्थानीय शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सुरु

धार्चे गाउँपालिमा स्थानीय शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सुरु भएको छ । युनेस्कोको आर्थिक सहयोग तथा गाउँपालिका र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको साझेदारीमा गाउँपालिका केन्द्र माछिखोलामा सोमबारबाट स्थानीय शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सुरु भएको हो ।

पालिकाको शैक्षिकस्तर सुधार गर्न शिक्षा योजना निर्माणका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको अध्यक्षतामा १७ सदस्यीय मुल समिति गठन गरिएको छ । सोहि समिति भित्र पाँच वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । विद्यालयको तर्फबाट मुल समितिमा पालिका भित्रका २५ वटा सामुदायिक विद्यालय र एउटा बोर्डिङ स्कुल सहभागी रहेका छन् ।

हरेक प्रदेशमा एक स्थानीय तह स्थानीय शिक्षा योजना निर्माणका लागि छनौट हुने गरेको बताउदै गण्डकी प्रदेशको गाउँपालिका तर्फबाट धार्चे गाउँपालिका छनौट भएको अध्यक्ष गुरुङले बताए । पालिकाको शिक्षा क्षेत्रको सुधारका लागि पाँच वर्षे योजना र १० वर्षे दिर्घकालिन भिजन निर्माणका लागि स्थानीय शिक्षा योजना निर्माण गर्न कार्यशाला गोष्ठी सुरु भएको उनले जानकारी दिए । समितिले पालिकाको शिक्षा क्षेत्र सुधार गर्नका लागि के कस्ता समस्या छन र त्यसको पहिचान गरी समस्या समाधानका लागि पहिलो, दोस्रो र तेस्रो वर्षमा कुन कुन योजना कार्यान्वयन गर्ने भनेर तय गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

स्थानीय शिक्षा योजना निर्माण कार्यशाला गोष्ठीले पालिकाको शैक्षिकस्तर सुधारका लागि कसरी अघि बढ्ने भनेर विभिन्न योजनाहरु निर्माण गर्ने मुल समितिको सदस्य तथा विद्यालय विषयगत क्षेत्र र उपक्षेत्र संयोजक धनमान गुरुङले बताए । मुल समिति अन्तरगत गठन गरिएको पाँच वटा उपसमितिलाई जिम्मेवारी बाडफाट गरिएको उनले जानकारी दिए ।

जस अन्तरगत उपसमितिले योजनाको परिचय र पृष्ठभूमि लेख्ने, योजनाको दुरदृष्टि, उद्देश्य, योजनाको विषयहरु, विषयभित्रको उपक्षेत्रहरुको चर्चा उपचर्चा, बहुभाषिक, सस्कार, सस्कृति, बस्तुस्थितिको बारेमा तथ्यांक संकलन गर्ने र योजनाको सुशासन र व्यवस्थापन, मार्गदर्शनका बारेमा प्रतिवेदन तयार गर्नेछ ।

चार दिन भित्र प्रतिवेदन तयार गरी जेठको २० गते सम्ममा धार्चे गाउँपालिकाको स्थानीय शिक्षा योजना निर्माणको खाका तयार गर्ने हुने उनले बताए । उपसमितिले चार दिन भित्र योजनाको ड्राफ्ट बनाएर मुल समितिलाई बुझाउनेछ । मुल दुई÷तीन पटक छलफल गरेर त्यसमा थप सुधार गरी स्थानीय शिक्षा योजना निर्माण तयार हुनेछ । उक्त योजना आउने आर्थिक वर्षबाट कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

मुल समितिमा पालिकाको अध्यक्ष, उपाध्यक्ष सल्लाहकारका रुपमा रहेका छन् भने पालिकाका विभिन्न शाखाका प्रमुखहरु, पालिका भित्रमा माविबाट एक÷एक जना प्रधानाध्यापक मुल समितिको सदस्यका रुपमा रहेका छन् । समितिमा शिक्षा मन्त्रालयका पुर्व उपसचिव खगराज पौडेल शिक्षा विज्ञको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्