| आइतवार, बैशाख ९, २०८१

भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गराउने, कांग्रेस–माओवादी बचाउने काम भयो : बस्नेत

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न नसकेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल गोरखाको आयोजनामा बुधबार जिल्ला सदरमुकाममा सम्पन्न भएको युवाभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कारवाही प्रक्रियालाई निष्कर्षमा पु¥याउन नसकेको बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थीको छानविन गरेको कुरालाई यो सरकारको सबैभन्दा ठूलो उपलब्धीको रुपमा व्याख्या गरिरहेको छ,’, उनले भने, ‘तर लामो समयदेखि भ्रष्टचारमा संग्लन रहेकाहरुको मुद्दाहरु वा फाइलको छानविन गर्न सक्ने हिम्मत प्रधानमन्त्री प्रचण्डसँग छैन ।’सार्वजनिक स्थलहरुमा भ्रष्टाचार विरोधी अभियान चलाउने कुरा गर्दै जनतालाई भ्रम छर्ने काम गरेपनि कारवाही गर्ने हिम्मत अहिलेको गठवन्धनको सरकारसँग नरहेको उनको भनाइ छ ।

भुटानी शरणार्थी प्रकरणमा छानविनको पहिलो चरणदेखि नै प्रचण्डले सरकार टिकाउन एमालेलाई बदमान गराउने र काँग्रेस–माओवादी बचाउने गरी प्रक्रिया अगाडी बढाएको उनको आरोप छ । भ्रष्टाचार मुद्धामा संलग्न सबैलाई कडाइका साथ कारवाही गर्न उनले जोड दिए ।वर्तमान सरकार जनताको जीवनस्तर सुधार र विकास निर्माणको कार्यमा केन्द्रित नभएको उनको आरोप छ । यसअघि एमाले सरकारले ल्याएको लोकप्रिय योजनाहरु कटौती गरेको भन्दै उनले असन्तुष्टी समेत जनाए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतले पार्टीलाई थप सशक्त र बलियो बनाउँदै लैजानुपर्ने बताए । वडास्तरदेखि नै संगठन विस्तार गरी प्रशिक्षण दिन आवश्यक रहेको उनले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपालले वैशाख २५ गतेदेखि देशभर युवा भेला तथा प्रशिक्षण अभियान संचालन गरिरहेको छ । अभियानका क्रममा पार्टीको वडा स्तरमा संगठन निर्माण तथा विस्तार, पार्टीका कार्यकर्तालाई जिल्ला स्तरीय नेताबाट प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिने राष्ट्रिय युवा संघ नेपाल गोरखाका सचिव विशाल लामिछानेले बताए ।

राष्ट्रिय युवा संघ नेपाल गोरखाका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय युवा संघ केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका केन्द्रिय सह–इन्चार्ज किरण पौडेल, संघका केन्द्रिय उप–महासचिव महेन्द्र गुरुङ, संघका केन्द्रिय सदस्य निरज आचार्य, नेकपा एमालेका केन्द्रिय सदस्य रामशरण बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्