| सोमवार, फाल्गुन २१, २०८०

औषधी र उपकरण नथन्क्याई, जनतासम्म पुर्‍याउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र उपकरण थन्क्याएर नराख्न प्रदेशको स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य निर्देशनालयको स्टोर अनुगमन गर्दै मुख्यमन्त्री पाण्डेले औषधी र स्वास्थ्य उपकरण मौज्दात हुँदाहुँदै पनि जनताले उपभोग गर्न नपाउनु दुखद भएको बताएका हुन् ।

मंगलवार पोखरामा गण्डकी प्रदेशका स्थानीय तहबीच नव प्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्बन्धी अन्तरक्रियामा पालिकाका जनप्रतिनिधिहरुले पालिकाका स्वास्थ्य संस्थाले आवश्यक मात्रमा औषधी तथा उपकरण नपाएको गुनासो गरेका थिए । उनीहरुको गुनासो सुनेपछि बुधबार मुख्यमन्त्री पाण्डेले स्वास्थ्य निर्देशनालयको अनुगमन गरेका हुन् ।
स्टोरमा पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको तर, स्थानीय तहमा नपठाएको बारेमा जानकारी पाएका थिए । तत्काल मुख्यमन्त्री पाण्डेले स्टोरमा थन्काउनुको साटो औषधी र उपकरण जनतासम्म पु¥याउन निर्देशन दिएका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको ‘प्रोटोकल’ अनुसार १० प्रतिशत औषधी मात्र अत्यावश्यक कामका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै औषधी रहेको जानकारी गराए । सबै प्रकारका औषधी अझै अपुग रहेको भन्दै उनले भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको बताए । इमर्जेन्सीका लागि राख्ने बाहेक अरू बढी औषधी स्टक नरहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराए ।

मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भए पनि स्वास्थ्य उपकरण भने सक्दो धेरै प्रयोगमा ल्याउन सुझाव दिए । साथै उनले प्रदेशका ११ जिल्लाका कम्तिमा एक–एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउँदै अहिलेको स्थितिमा भन्दा आगामि वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए । ‘हामीसँग साधन स्रोत सीमित छ, आवश्यकता र आपूर्तिलाई कसरी व्यवस्थित गर्ने भन्ने योजनामा हामी छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्