| शनिबार, बैशाख २२, २०८१

गण्डकी प्रदेश स्तरीय क्लाईम्बिङ स्पोर्टस् संघको तदर्थ समिति गठन


नेपाल क्लाईम्बिङ स्पोट्र्स संघको गण्डकी प्रदेश स्तरीय क्लाईम्बिङ स्पोट्र्स संघको तदर्थ समिति गठन भएको छ । बिहिबार पोखरामा सम्पन्न भेलाले राष्ट्रिय खेलकुद परिषदबाट विशेष खेलको मान्यता पाएको सो संघको तदर्थ समिति गठन गरेको हो ।

भेलाले शेषकान्त शर्मा(पर्वत)को अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । जसको उपाध्यक्षहरुमा अनिल पाण्डे(तनहूँ) र मनु गुरुङ(मनाङ), चयन भएका छन् । भेलाले समितिको सचिवमा मनशान्त घिमिरे(लमजुङ), कोषाध्यक्षमा पुष्पा तिलिजा पुन(म्याग्दी) र सहसचिवमा सिद्धार्थ केसी(तनहुँ) चयन भएका छन् ।

साथै सदस्यहरूमा कृपा कुमार गुरुङ(कास्की), शान्ता गुरुङ(गोरखा) र हिराकुमारी मल्ल (स्याङ्जा) रहेका छन् । बाँकी दुई सदस्य भने गण्डकी प्रदेश खेलकुद परिषदबाट मनोनित हुने प्राबधान रहेको छ ।

नेपाल क्लाईम्बिङ स्पोट्र्स संघका उपाध्यक्ष तथा नेपालका प्रथम अन्तर्राष्ट्रिय माउण्टेनियरिङ गाइड सुनारबहादुर गुरुङको अध्यक्षतामा र गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य तारामाया थापाको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो । भेलाले गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा तदर्थ समिति गठन गरेको हो ।

परिषदका कार्यकारी सदस्य थापाले तदर्थ कमिटीबाट आगामि चारमहिनाभित्र विधान, लोगो, छाप, लेटरप्याड बनाई सरोकारवालाहरुलाई समेटेर अधिवेशन गर्न निर्देशनका साथै आगामि दिनहरुमा यस संघलाई प्रदेश खेलकुद परिषद सँग–सँगै लिएर जाने र आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने बारे संघलाई पूर्णरूपमा सहयोग गर्ने बारेमा बचनबद्ध भएर लाग्ने बताएकी थिइन् ।

साथै भेलाका अध्यक्ष गुरुङले केन्द्रीय संघले विगत १२ वर्षदेखि इन्डोर र आउटडोर रक क्लाईम्बिङ खेलका बिभिन्न गतिविधिहरु नेपालभित्र गर्दै आएकोमा नीति निर्माणका बिभिन्न कार्यहरुमा प्रादेशिक स्तरमा नै योजना बनाउने सन्दर्भमा यस प्रदेशको गठन गर्नु परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्