| आइतवार, असार ३१, २०८१

५५ वर्ष अघिको मनकामना मन्दिर

सुनिल उलक :

करिव ५५ वर्ष अगाडी खिचिएको मनकामना मन्दिरको तस्विर हो यो । मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासको साथ यो मन्दिर दर्शन गर्नेहरुको भिड लाग्ने गर्दछ ।

२०५५ सालमा केवलकारको शुरुवात हुनु भन्दा अगाडी आँबुखैरनीबाट करिव साढे दुइ घण्टामा हिडेर पुग्न सकिन्थ्यो । केवलकारको सञ्चालन पछि मनकामना दर्शनको लागी धेरै नै सहज भएको छ ।

बि.सं. १६९० मा स्वर्गिय भएका राजा राम शाहको रानी पुण्यवती देवी नै मनकामना माताको रुपमा प्रकट भएको भन्ने मान्यता छ । रानी भगवतीको साक्षात रुपमा देखेका राजाको तत्कालै मृत्यु भएपछि राजाको साथ सती गएका रानी पुण्यवतीले आफ्ना विश्वासिला दरवारिया कर्मचारी लखन थापालाई म फेरी तिम्रै गाँउमा प्रकट हुनेछु भनेको र सात महिना पछि नै हलो जोत्दा सियो अड्केर ढुङ्गाबाट रगत र दुध बग्न थालेपछि त्यहि ढुङ्गालाई नै देवीको रुपमा पूजा गर्न थालिएको भन्ने किंवदन्ती छ । पछि लखन थापाको सन्ततीलाई नै यो मन्दिरको पुजारी बनाइएको हुँदा अहिले पनि यस मन्दिरमा मगर पुजारी रहेको छ ।

यहाँ रहेको मन्दिर भने राम शाहका चौथो पुस्ताका राजा पृथ्वीपति शाहले बनाइदिएका हुन् । बि.सं. १८२० मा पृथ्वीनारायण शाहले यस मन्दिरमा गुठी स्थापना गराइ मनकामना मन्दिर र साथमा रहेको बंकेश्वर महादेवको सञ्चालनको ब्यबस्था गराएका थिए । १८२५ मा पृथ्वीनारायण शाहले घण्टा चढाएका थिए भने १८५९ मा चार दाजुभाइ सुरविर, करविर, फोदसिंह र खड्गसिंहले सुनको परतले मोडेको मन्दिर बाहिरको ढोका चढाएका थिए ।

यस मन्दिरमा शाह राजाहरु दर्शन गर्न पुगिरहने गर्दथे । साथै केही न केही चढाउने पनि गर्दथे । त्यस्तैमा १८६९ मा गिर्वाणले ठूलो घण्ट, १९२८ मा राजा सुरेन्द्रले तामाको छाना, २०१६ मा तामाको छाना चुहिन थालेपछि जस्ता पाता छाइएको थियो जुन २०२६ सालमा राजा महेन्द्रले फेरी तामाको छाना नै छाउन लगाएका थिए ।

यस्तै बि.सं. १९६१ मा पाटनका हर्षमान महर्जनले सुनको रङ चढाएको मूल ढोका चढाएका थिए । देशको सबैभन्दा धनि मन्दिरमा पर्ने यो मन्दिरको कूल ७६५९ रोपनी जमिन थियो । अहिले कति बाकी छ थाहा भएन ।

२०७२ सालको भूकम्पले क्षति पुगेको यस मन्दिरको पूननिर्माणको काम २०७५ मा सम्पन्न भएको थियो । मन्दिर पुरानै शैलीमा पूननिर्माण गरिए पनि यसको छानामा भने हाल सुनको जलप लगाइएको छ ।
(साभारः सुनिल उलकको फेसबुकपेज)

प्रतिक्रिया दिनुहोस्