| बुधबार, अशोज १७, २०८०

गोरखाका स्वस्तिक अर्याल ‘मेरो डान्स युनिभर्स’को फाइनलमा

केशव गुरुङ :

गोरखा नगरपालिका १० विरेन्चोकका स्वस्तिक अर्याल सानैदेखि नृत्यमा रुची राख्थे । आमा सरिता र बुबा कृष्ण अर्यालका कान्छो छोरा उनी सानैदेखि विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे । उनै स्वस्तिक गतहप्ता भएको नेपालको अहिलेसम्मकै महंगो पुरस्कार राशीको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्सकमा उनी गतहप्ता ‘पर्फमेन्स वीक्’ बन्दै सेमिफाइनलबाट सिधै फाइनल अर्थात शीर्ष ५ मा पुगेका हुन् ।

गोरखाको सेन्ट जोसेफ स्कूलमा कक्षा १० सम्म अध्ययन पूरा गरी उनी २०७३ मा पढाइसँगै आफ्नो नृत्य कलाको भविष्य खोज्दै काठमाडौँ छिरेका थिए । ‘सुरुमा पढाइकै लागि भनेर काठमाडौ आएको थियो । पछि पढाइसँगसँगै नृत्य कलाको रुची भएका कारण यहि क्षेत्रमा आवद्ध भएका हो,’ उनले भने । व्यवसायिक रुपमा यही क्षेत्रमै लागेको ६ वर्ष भइसकेको उनले बताए । पप्पिङ स्टालकासँगै हिपप्, मोर्डन स्टाइलको डान्समा उनी दख्खल राख्छन् ।

उनले काठमाडौबाट गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै अडिसनमा भाग लिएका थिए । नृत्य कलाका क्षेत्रमा गोरखाका कमै मात्र रहेको र यो इन्टरननेशनल रियालिटी शो भएकाले आफनो नृत्य प्रस्तुत गर्नुका साथै गोरखासँग सम्बन्धित विषयबस्तु प्रस्तुत गर्न यो रियालिटी शोमा भाग लिएको उनको भनाइ छ । अर्यालले नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहदेखि २०७२ सालमा गएकोे भूकम्पको विषयबस्तुलाई रियालिटी शोमा प्रस्तुत गरेका थिए । आगामि दिनमा हुने विदेश यात्रामा समेत उनले आफनो जिल्लाको विषयबस्तुका बारेमा प्रचारप्रसार गर्ने बताएका छन् ।

जिल्लाबासी भेट्न मंगलबार गोरखा आउँदै

उनले व्यक्तिगत रुपमा प्रतिस्पर्धा नगरेपनि यसअघि विभिन्न रियालिटी शोहरुमा समूहगत नृत्यहरुमा भने पटक पटक सहभागिता जनाइसकेका थिए । आफनो व्यक्तिगत रुपमा प्रतिस्पर्धामा उत्रिएको भने यो नै पहिलो पटक भएको अर्याल बताउँछन् ।

६ दाजुभाइका कान्छा छोरा उनका बुवा आमा भने अमेरिकामा बस्छन् । गोरखाको विरेन्चोकमा भने हजुर आमा र हजुरबुवा मात्र रहेका छन् । परिवार विदेशमा भएता पनि उनी आफु भने नृत्य क्षेत्रमा भविष्य खोज्दै नेपालमै केही गर्ने योजना बनाइरहेको र अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनी सुनाउँछन् । यदि यो प्रतियोगितामा विजयी भएमा त्यहाँबाट पाएको रकमले नेपाली नृत्यको क्षेत्रमा लगानी गर्ने उनको सोच छ ।

आगामि भदौ २ गते फाइनल हुने भएकाले त्यसअघि नै भोट दिएर सहयोग गरिदिन समेत सबैलाई उनले आग्रह गरे ।
उनी आफनो जिल्लाबासी भेटघाट गर्न मंगलबार गोरखा आउने कार्यक्रम रहेको बताउँछन् । साउन २७ गते शनिबार बेलुकादेखि भदौ २ गते शनिबारसम्म भोटिङ खुल्ला हुने भएकाले आफुलाई भोट गरिदिन समेत उनले आग्रह गरेका छन् ।
सो प्रतियोगिताका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ । त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन् । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै धनराशी हुने शो भएको आयोजकको दाबी छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनले ‘मेरो भ्वाइस युनिभर्स’ र ’मेरो डान्स युनिभर्स’ नामक रियालिटी शो संचालन गर्दै आएका छन् । नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले शो गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्