| बुधबार, अशोज १७, २०८०

गुम्दामा आयोजित आलु मेला सम्पन्न, खेलाडीलाई आलु पुरस्कार

आलुका लागि प्रख्यात रहेको धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा भदौ १ गते सुरु भएको गुम्दा आल मेला मंगलबार राती सम्पन्न भएको हो ।

आलु मेलाका आयोजित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा घले हाइब्रिस्टिङ युवा क्लव लापुबेसीले उपाधि जितेको छ । उपाधि जितेको लापुबेसीको टिमले नगद ६० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्रसहित तीन पाथी आलु प्रदान गरिएको क्लवका उपाध्यक्ष मितिराज गुरुङले बताए ।

प्रतियोगितामा लाप्राक समाज युवा क्लव दोस्रो र लालीगुराँस युवा क्लव मान्बु तेस्रो भएका छन् । उनीहरुले क्रमश नगद ४० हजार र ३० हजारसहित ट्रफी, मेडल, प्रमाण प्रदान गरिएको छ । दोस्रो र तेस्रो हुनेलाई क्रमश दुई र एक पाथी आलु वितरण गरिएको समेत उनले बताए ।

जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि उलाजुङ एकता युवा क्लव बारपाक सुलिकोटले जितेको छ । सो प्रतियोगितामा श्री बाह्रमुले युवा क्वब बारपाक सुलिकोट दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद १४÷१४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला भलिबल प्रतियोगितामा गुम्दा एकता युवा क्लव तेस्रो भएको उपाध्यक्ष गुरुङले बताए । प्रतियोगितामा तेस्रो भएको गुम्दा टिमले नगद रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई तीन÷तीन पाथी आलु वितरण गरिएको गुरुङ जानकारी दिए ।

आलुको राजधानी भनेर चिनिने गुम्दामा विगतका वर्षहरुमा झैँ यस वर्षमा पनि आलु खाने प्रतियोगिता संचालन गरिएको थियो । सो प्रतियोगितामा सुनिल गुरुङ पहिलो, आजाद सुनार दोस्रो र पिटर सुनार तेस्रो भएका छन् । आलु खाने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १२ सय, एकहजार र आठसय सहित मेडल, प्रमाण प्राप्त गरेका छन् ।

मेलामा भएको लोक नृत्य प्रतियोगितामा प्रीति गुरुङ पहिलो, सुस्मिता सुनार दोस्रो, चाहान गुरुङ तेस्रो र रेमन घले चौथो भएका छन् । लोक नृत्य प्रतियोगितामा प्रथमले १५ सय सहित सुनको औँठी, द्वितीयले एकहजार सहित सुनको सितारा, तृतीय हुनेलाई आठसयसहित चाँदीको औठी र चौथोलाई सुनको औँठीसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको उनले बताए ।

त्यस्तै रनिङ नाँच प्रतियोगितामामा अस्मिता गुरुङ पहिलो, आशिष गुरुङ दोस्रो र विकास गुरुङ तेस्रो भएका छन् । उनीहरुले क्रमश १२ सय, एक हजार, आठसयसहित प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।

कार्यक्रममा विजयी खेलाडीहरुलाई धार्चे ५ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ, क्लवका अध्यक्ष सुकबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।

गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै आलु उत्पादन भएको तर कच्ची सडकका कारण मोटर बाटो संचालन नहँुदा त्यहाँ उत्पादित आलु समयमै बजारसम्म पु¥याउन नपाएको स्थानीय कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्