| बुधबार, अशोज २३, २०८१

अपाङ्गता भएका २ जनालाई सहयोगी सामग्री प्रदान

असल छिमेकी नेपाल पोखरा कास्कीद्वारा गोरखा नगरपालिका भित्रका अपाङ्गता भएका दुई जनालाई ६० हजार रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

नगरपालिकाको वडा नं ७ मसार गाउँका तिलकुमारी रोकालाई लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको संस्था गोरखाका प्रतिनिधि विनिता श्रेष्ठले बताइन् । डस्ना, सिरानी, सिरक, तन्ना, लुगाधुने साबुन लगायतका गरी ३० हजार बराबरको लत्ताकपडा वितरण गरिएको उनले बताइन् ।

३९ वर्षीया तिल कुमार रोका जन्मिएको केहि महिनापछि पूर्णरुपमा हिडडुल गर्न नसक्ने अपाङ्गता भएकी थिइन् । उनलाई जग्गाजमिन बेचेर भरतपुर अस्पतालमा उपचार गरेको तर सफल नभएपछि फर्काएर ल्याएको उनकी आमा मनमाया रोकाले बताइन् ।

जन्मिएको केहि महिनादेखि नै अपाङ्गता भएकी छोरीको दिसापिसाब सोहोर्न लगायतका स्याहार सुसार आमाले नै गर्दै आएकी छिन् । १२ सन्तान जन्माएकी मनमायाको तिल कुमारी माइली छोरी हुन् । अपाङता भएता पनि आफनो सन्तानको सधै माया लाग्ने गरेको उनी बताउछिन् ।

त्यस्तै, शुक्रबार नै वडा नं ४ फिनाममा नरबहादुर बानियाँलाई सरसफाइका सामग्री प्रदान गरिएको छ । अपाङ्गतामैत्री शौचालय निर्माणका लागि ३० हजार बराबरको शौचालयलाई आवश्यक पर्ने सिमेन्ट, बालुवा रड लगायतका सामग्री प्रदान गरिएको उनले बताइन् ।

सफल बानियाँका जन्मिएदेखि हिडडलु गर्न, बोल्न नसक्ने भएको र उनलाई दैनिक रुपमा शौचालय जानका लागि सहज होस भन्ने उद्देश्यले अपाङ्गमैत्री शौचालय निर्माणका लागि उक्त सामग्री प्रदान गरिएको संस्थाकी श्रेष्ठले बताइन् ।

कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, संस्थाका कार्यक्रम संयोजक पवनकुमार बस्नेत, असल छिमेकी कास्कीका गोरखाका प्रतिनिधि विनिता श्रेष्ठ, गोरखा नगरपालिकाकी कार्यपालिका सदस्य पम्फा बसेल, विपद प्रतिकार्य समूहका उपाध्यक्ष अविनाश कोइराला, विपत प्रतिकार्य समूहका कोषाध्यक्ष चण्डिका श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष विष्णु श्रेष्ठ, वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष जमिल मियाँ, सचिव नारायण भट्ट लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्