
गोरखा नगर स्तरीय अन्तरविद्यालय फुटवल प्रतियोगिता हुने
जिल्ला सदरमुकाममा गोरखा नगर स्तरीय यु–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजना र नगरपालिकाको सहकार्यमा असोज १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव सविन खत्रीले बताए ।
‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तरगत हुन लागेको प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १२ विद्यालयका खेलाडीको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका खेलाडीहरुले भदौ ३१ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ ।
खेलहरु भने प्रत्येक साताको शनिवार र सार्वजनिक बिदाका दिन मात्र संचालन हुने आयोजकले जनाएको छ । खेलका १३ बर्षभन्दा मुनिका खेलाडीहरु मात्र सहभागी हुन पाउने बताइएको छ ।