जिल्ला प्रहरी कार्यालयमा बालमैत्री कक्ष संचालन
जिल्ला प्र्रहरी कार्यालय गोरखामा बालमैत्री कक्ष स्थापना गरिएको छ । सामाजिक विकास कार्यालयको व्यवस्थापनमा प्रहरी कार्यालय मातहत रहेको महिला तथा बालबालिका भवनको एक कोठामा कक्ष स्थापना गरिएको हो । स्थापना भएको उक्त कक्षको शुक्रवार उद्घाटन गरिएको छ । ५९ र्आैँ राष्ट्रिय बाल दिवसको अवसर पारेर प्र्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले संयुक्त रुपमा कक्षको उद्घाटन गरेका हुन् ।
उक्त बाल कक्षमा प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका बालबालिका, पीडित महिलाका बालबालिका र प्रहरी कर्मचारीको बालबालिका राख्न सकिने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘पीडित लगायत सेवाग्राहीका स–साना बालबालिकाहरु कहाँ राख्ने भन्ने समस्या थियो,’ उनले भने, ‘अब यो कक्ष भएपछि बालबालिकालाई भुलाउन धेरै सहज हुन्छ भन्ने अपेक्षा गरेका छौ ।’
पछिल्लो समय जिल्लामा महिला तथा बालबालिका अपराध सम्बन्धी घटनाहरु बढ्दै गएकाले पनि पीडित महिलाहरुको बालबालिकाहरुलाई व्यवस्थित रुपमा राख्न बालमैत्री कक्षले धेरै सहयोग पुग्ने उनको भनाइ छ । २०८७ सम्ममा देशभरका सबै जिल्ला र स्थानीय तह बालमैत्री घोषणा गर्ने सरकारको लक्ष्य अनुसार प्रहरी कार्यालयमा बालमैत्री कक्ष संचालन गरिएको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारले बताए ।
यसअघि सेवाग्राहीको बालबच्चाहरु बेवारिसे हुने गरेको यसले बच्चाको सुरक्षामा धेरै पुग्ने उनले बताए । उक्त कक्षमा बिभिन्न उमेर समूहका बालबालिकालाई लक्षित गरी खेलौनाहरु राखिएका छन् । खेल्ने, पढ्ने लगायतका गतिविधि गर्न बालबालिका लक्षित ३२ प्रकारका सामग्री राखिएको परियारले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बालमैत्री नगर घोषणाका लागी तयारी भइरहेको बताइन् । प्रजिअ भुसालले स्थापना भएको बाल कक्षले बालबालिकाहरुको अधिकार प्रबद्धर्नमा समेत धेरै सहयोग पुग्ने बताए ।