
दुर्घटना भएको बसका चालकबिरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता
गोरखा–भच्चेक सडकखण्ड अन्तरगत सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार भएको सवारी दुर्घटनाका बस चालकबिरुद्ध मुद्दा दर्ता भएको छ ।
चालक सहिदलखन गाउँपालिका – १ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर १० टक्सार बस्ने रेशमबहादुर गुरुङबिरुद्ध सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिवार बिहान करिव साँढे दश बजेको समयमा भच्चेकबाट गोरखा आउँदै गरेको ग १ ख ९७३६ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प १५१० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका रामलाल कुमालको मृत्यु भएको थियो ।
मृतकका आफन्तले किटानी जाहेरी दिएपछि बस चालकबिरुद्ध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।