| सोमवार, भदौ २४, २०८१

‘बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार’

सहिद लखन गाउँपालिका ६ बतासेकी एक महिला बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी छिन् । ७२ बर्षकी वृद्धाले आफ्नै परिबारको सदस्यबाट बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी हुन् ।

श्रीमान र कान्छो छोराको मृत्यू भएपछि आफ्नै साहिँली बुहारीबाट बोक्सीको आरोपमा दुव्र्यबहार बेहोर्नु परेको उनको भनाइ छ । ‘१५ बर्ष भयो, सँधै यता फर्के पनि बोक्सीबूढी भन्ने, उता फर्के पनि बोक्सीबूढी भनेर बस्नखान दिन्न । सहिनसक्नु भएर प्रहरीलाई गुहारेको हो’, पीडित वृद्धाले भनिन्, ‘मेरो बुढा मरेको २२ बर्ष भयो । कान्छो छोरो मरेको १५ बर्ष भयो । कान्छो छोरो बितेको दिनदेखि मलाई जता फर्के पनि बोक्सी भन्छे । धान्नै नसक्ने भएपछि अरु के गर्ने त ? प्रहरीमा जान्छु भनेर उजुरी दिन आएको हो ।’ काट्छु, मार्छु भनेर लम्कीझम्की गर्ने गरेको पनि उनले बताइन् ।

बोक्सी लाग्छ भनेर साना नाति, नातिनी खेलाउन पनि नदिने गरेको उनको गुनासो छ । ‘बोक्सी लाग्छ भनेर आफ्नै नाति, नातिनी छुन पनि दिन्न । अरुको नाति, नातिनी बरु खेलाउँछु । आफ्नो नाति, नातिनी नजिक पर्नै दिन्न’, उनी भन्छिन्, ‘मेरो छोरालाई कहिले बोक्सीको छोरो भन्छे, कहिले बोक्सीको पोइ भन्छे । कहिले तँलाई मार्दिन्छु भनेर लाठो उचालेर आउँछे, कहिले परिबारै मार्दिन्छु भन्छे ।’ अचाक्ली भएर कहिले गाउँपालिकाको न्यायिक समिति, कहिले नजिकैको प्रहरी चौकी गुहार्ने गरेको उनको भनाइ छ ।

उनले बोक्सीको आरोप लगाउने साहिँली बुहारीविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा प्रहरीले ३१ बर्षकी चमेली भनिने विपना श्रेष्ठलाई पक्राउ गरेको छ । केही दिनअघि पक्राउ परेकी उनीविरुद्ध बिहिबार ‘बोक्सीको आरोप’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्