
अजिरकोटमा करारका कर्मचारी निकाल्ने क्रम जारी
अहेब निष्काशनपछि धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ पियनको भरमा
अजिरकोट गाउँपालिका–१ को धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको सेवा बिगत एक महिनादेखि ठप्प छ । स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाह हुन नसकेको हो ।
गाउँमा स्वास्थ्य सेवा ठप्प भएको बारे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ठाकुरप्रसाद भट्टले स्वीकार गरेका छन् । ‘स्वास्थ्यकर्मी नै नभएपछि सेवा सुचारु छ भन्न मिल्दैन,’ उनले भने, ‘एकजना कार्यालय सहयोगीले कार्यालय चाहिँ खुलाउँछन्, तर भदौ महिनादेखि सेवा अवरुद्ध छ ।
’ यसअघि कार्यरत अहेब बिष्णुमाया गुरुङको करार अवधि थप नभएपछि संस्था स्वास्थ्यकर्मीविहीन बनेको हो । बिभिन्न झुठा बहाना बनाएर गाउँपालिकाले आफ्नो करार अवधि थप नगरेको गुरुङको गुनासो छ । ‘२०७४ सालदेखि यस संस्थामा काम गर्दै आएको हुँ । तर यो बर्ष नियुक्ती रिन्यू नै गरिदिएनन्,’ उनले भनिन्, ‘हुन्छ भन्ने आश्वासन दिदै साउन महिनासम्म काम लगाए तर अन्तिममा तपाईलाई नराख्ने भयौँ ।
तपाईको ठाउँमा नयाँ कर्मचारीको लागि भ्याकेन्सी खुलाइसक्यौँ भनेर स्वास्थ्य शाखा प्रमुखले भन्नुभयो ।’ साउन २५ गते उक्त जानकारी पाएपछि २८ गतेबाट आफू स्वास्थ्य संस्था नगएको उनले बताइन् । त्यसयता संस्था स्वास्थ्यकर्मी विहीन छ । हालसम्म पनि संस्थामा कर्मचारी राखिएको छैन । झण्डै डेढ महिनादेखि संस्था कार्यालय सहयोगीको भरमा छ ।
‘संस्थामा अरु कर्मचारी छैनन्, म गएर कार्यालय खोल्ने र बन्द गर्ने गर्छु,’ कार्यालय सहयोगी देउमाया गुरुङले भनिन्, ‘सामान्य खालका औषधी माग्न आए भने चाहिँ म आफैले दिने गरेको छु ।’ उक्त स्वास्थ्य संस्थामा पालखोला, पिसाङ, धन्सिरा, खरवारी लगायतका स्थानीय सेवा लिन आउने बताइएको छ ।
तर अहिले दुईदेखि तीन घण्टाको पैदल हिडेर घ्याच्चोक स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको स्थानीय कृष्णबहादुर घलेले बताए । ‘एक जना स्वास्थ्यकर्मी हुनुहुन्थ्यो, भदौबाट उहाँको सेवा अवधि थप नभएपछि आउन छाड्नुभयो, संस्थामा कार्यालय सहयोगी बाहेक अरु छैनन्, बिरामी हुदाँ दुई तीन घण्टा पैदल हिडेर घ्याच्चोक जानुपर्ने बाध्यता छ,’ उनले भने ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भट्टले केही दिनमा स्वास्थ्यकर्मी राखिने आश्वासन दिए । ‘बिज्ञापन खुलाइसक्यौ, अव अन्तरवार्ता बाँकी छ, छनोट गरेपछि हामी पठाउँछौ,’ उनले भने।