| सोमवार, भदौ २४, २०८१

धार्चेको बार्षिक प्रगति समीक्षा : कार्यविधिदेखि ऐन निर्माणसम्म

कर्मचारी अभावले सेवा प्रभावित बनेको गुनासो

धार्चे गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को आय तर्फको आर्थिक प्रगति ९३.४७ प्रतिशत रहेको छ । संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड र आन्तरिक स्रोत गरी पालिकाले गत आव ४९ करोड २६ लाख ७६ हजार आम्दानी गरेको थियो ।
आइतवार जिल्ला समन्वय समितिको आयोजनामा भएको गत आवको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले आफ्नो प्रस्तुतीमा सो कुरा जानकारी गराएका हुन् । उनका अनुसार गत आव कूल खर्च तर्फको प्रगति भने ६६.७ प्रतिशत रहेको छ । चालु तर्फको खर्च ७८.५३ र पूजीँगत तर्फको ४५.५५ प्रतिशत रहेको बताइएको छ ।

गतबर्ष वडा तहमा ४० देखि ८३ लाखसम्मको बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । सबैभन्दा धेरै वडा नम्वर ५ मा ८३ लाख बजेट विनियोजन भएको थियो । विभिन्न २० वटा योजनाका लागि विनियोजित उक्त रकममध्ये ७६ लाख ६१ हजार रकम खर्च भएको हो ।

पालिकाका अनुसार वडा नम्वर ४ मा १७ योजनाका लागि ७० लाख विनियोजन भएकोमा ६७ लाख ४९ हजार रकम खर्च भएको छ । ‘वडा नम्वर २ मा १६ योजनाका लागी ६० लाख रकम विनियोजन गरेका थियौ,’ प्रमुख प्रशासकीय अधिकृत सुनारले भने, ‘त्यसमा ५७ लाख ८३ हजार रकम खर्च भयो ।

’ वडा नम्वर ६ र ७ मा ५५ लाखका दरले बजेट विनियोजन भएको बताउँदै उनले थपे, ‘६ नम्वर वडामा ५२ लाख ३० हजार खर्च भयो, ७ मा ५१ लाख ७३ हजार ।’ त्यस्तै वडा नम्वर ३ मा १५ योजनाका लागि ५० लाख रकम विनियोजन भएकोमा ४६ लाख ८५ हजार खर्च भएको छ ।

वडा नम्वर १ मा ४० लाख रकम विनियोजन भएको थियो । कुल १२ योजनाका लागि विनियोजित उक्त रकममध्ये ३९ लाख ४५ हजार खर्च भएको पालिकाले जनाएको छ । पालिकाले गतबर्ष निर्माण गरेको दुई वटा ऐन, चारवटा कार्यविधि र एउटा निर्देशिकालाई पनि प्रगतिमा उल्लेख गरेको छ । २०७४÷७५ देखि हालसम्म १४ वटा ऐन, ५ वटा नियम÷नियमावली, १२ वटा निर्देशिका र ३५ वटा कार्यविधि निर्माण भएको सुनारले जानकारी गराए ।

समस्याहरु औल्याउँदै उनले प्रशासन, लेखा र शिक्षाका कर्मचारी अभाव भएको बताए । कार्यालय संचालनका लागि मेशिनरी उपकरण र भौतिक संरचनाको अभाव रहेको समेत उनले जानकारी गराए । इन्टरनेट र विद्युत सेवा प्रभावकारी नहुँदा सेवा प्रभावित हुने गरेको उनको गुनासो छ ।

अन्तर निकाय र अन्तर शाखा समन्वय प्रभावकारी नहुँदा थप समस्या भएको उनको भनाइ छ । आइतवारबाट सुरु भएको समीक्षा कार्यक्रम आज(सोमबार)सम्म चल्नेछ । कार्यक्रम अवधिभर जिल्लाका स्थानीय तह र बिषयगत कार्यालयहरुको प्रस्तुतीकरण रहने जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्