| बुधबार, अशोज २३, २०८१

मनास्लु बेस क्याम्पमा आरोहीको बजार

हिमाल आरोहणका लागि आएका आरोहीले यतिबेला मनास्लु आधारशिविर दुलही अन्माउने घर जसरी सजिसजाउ भएको छ । ४,८०० मिटर उचाइमा रहेको सो बेसक्याम्पमा अहिले तीनसय भन्दा धेरै आरोही र उनीहरुका सहयोगीहरुको शिविरले भरिएको हो ।

८,१६३ मिटर अग्लो विश्वको आठौं अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा मात्र ३०१ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

तीनसय जना आरोही तथा उनीहरुका सहयोगीले आधार शिविर खचाखच भरिएको स्थानीय मिङ्मार लामाले बताए ।
सामागाउँबाट करिब दुईघण्टाको पैदलयात्रामा पुगिने यहाँ मोबाइल सेवा, इन्टरनेट सेवाको समेत सुविधा रहेको छ । नुब्री उपत्यकाको दृश्य अवलोकन गर्न सकिने यहाँ अहिले आरोहणमा जाने र सफल आरोहण गरेर फर्कनेहरुको भीड लाग्ने गरेको लामाले बताए ।

शरदको सिजनमा नेपालका अरु सबै हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्ने गर्दछन् । यसबर्ष पर्यटन विभागबाट ३९५ जनाले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएकामध्य मनास्लु आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन् । २३ जनाले धौलागिरी, १० जनाले अमादब्लम, पाँचजनाले चोयू र चारजना मकालु आरोहणका लागि अनुमतिलिएका छन् । हिमाल आरोहणबाट तीनकरोड ९९ लाख ६६ हजार राजस्व संकलन भएकामा मनास्लु आरोहणको अनुमतिबापत तीन करोड ३७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

मनास्लु आरोहणका लागि गोरखाको मार्ग हुँदै नगई आरोहीहरु अधिकांश लम्जुङ, मनाङ हुदै जाने गर्दछन् भने कतिपय आरोही हेलिकोप्टरबाट पुग्ने गर्दछन् । जसले गर्दा गोरखाका स्थानीय होटल व्यवसायी आरोहीका कारण लाभान्वित हुन नसकेको मनास्लु संरक्षण क्षेत्र होटल उपसमितिका संयोजक गणेश कार्कीको गुनासो छ ।

‘मनास्लु हिमाल गोरखामा पर्छ । यतिबेला बेसक्याम्पमा नुब्री क्षेत्रका सबै गाउँबस्तीभन्दा ठूलो बजार लागेको छ । यस क्षेत्रको गाउँबस्तीमा भन्दा धेरै चहलपहल छ’, कार्की भन्छन्, ‘तर यसको लाभ गोरखाली व्यवसायीले भन्दा अरु जिल्लाका व्यवसायीले लिएका छन् । आरोहीहरुलाई गोरखाकै पदमार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाउन सके लाखौं खर्च गरी होटल, लज, टी हाउस व्यवसाय चलाएका स्थानीय व्यवसायीले राहत पाउन सक्थे ।’ यसका लागि नीति निर्माण तहले चासो दिनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्