
लिगलिगकोट, पर्यटन र इतिहास

दसै सुरुवात हुन लागेको छ । दसैको बेला लामो बिदा समेत हुने हुदा धेरैले आजभोली दसैको समयमा घुमफिर गर्ने गर्ने योजना बनाउछन् । तर घुमफिर गर्ने ठाउँको बारेमा जानकारी नहुँदा अधिकाशं पर्यटकहरु अलमलिइरहेका हुन्छन् । कहा घुमफिर गर्न जाने ? सडक कस्तो छ ? बाटोमा खाने बस्ने होटल अथवा होमस्टे सन्चालनमा छन छैनन् ? घुमफिर गर्न जाने ठाउँका बारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ सक्दछ । नेपालमा घुमफिर गर्ने ठाउ धेरै छन् । तर घुमफिरमा निस्कने पर्यटकहरुले आफ्नो समय र खर्च गर्नका लागि पैसाको जोहो मिलाउन सके दसैको बेला गोरखा जिल्लाको लिलिगकोट जान सके राम्रो हुन्छ ।
प्रकृतिसंग रमाउने र इतिहासको बारेमा रुचि राख्ने पर्यटकहरुका लागि लिलिगकोट घुमफिर गर्दा धेरै कुराको अध्यन हुन्छ । शाहवंशको सुरुवात भएको जिल्ला हो गोरखा । गोरखनाथ, गोरखकाली र मनकामनासमेत गोरखामा ऐतिहासिक धार्मिकस्थलहरु छन । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराईको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो ।
लिगलिगकोट गण्डकी प्रदेशको गोरखा जिल्ला पालुंङटार नगरपालिकाको वडा नम्बर २ मा पर्दछ । लिगलिगकोट पर्यटन र इतिहासको लागि पुग्नै पर्ने ठाउ हो । संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको अभ्यास पनि लिगलिगकोटमै भएको थियो । अमेरिकामा सन् १७७९ मा मात्रै प्रजातन्त्रको अभ्यास भएको थियो भने गोरखाको लिगलिगकोटमा १५४६ मै लोकतन्त्रको अभ्यास भएको थियो । यतिमात्र नभई गणतन्त्रको पहिलो अभ्यास पनि लिगलिगकोटमै भएको थियो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलार्ई हिमालपारीको गोरखा भन्ने गरिन्छ । त्यहाँ रहेका मनास्लु, हिमालचुली, नाधी चुली, बौद्ध हिमालहरुले पर्यटकहरुलाई आकर्षण गर्दछ ।
लिगलिगकोट समुन्द्री सतहबाट करिब १ हजार ४३७ मिटर उचाईमा रहेको छ । लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ । प्राकृतिकरुपमा पनि अति नै मनोरम छ । आधुनिक नेपालको इतिहासका महत्वपूर्ण कार्यक्रमहरु लिगलिगकोटबाट सुरु भएको हो । नेपालमा व्यवस्थित रुपमा सैनिक स्थापना, हिन्दुराज्यको स्थापना, एकीकरणको सुरुवात लिगलिगबाटै भएको हो । नेपाली सेनाको सुरुवात द्रव्य शाहले लिगलिगकोटबाट गरेका हुन् । पर्यटकहरु लिगलिगकोटको चुलीमा पुगेपछि देखिने दृश्य अत्यन्तै मनमोहक छ ।
लिगलिगकोटको चुलीबाट चारैतिरको मनोरम दृश्य हेर्न सकिन्छ । लामो इतिहास बोकेको नेपाल एकीकरणको उदगम स्थल सिङगो नेपाल र गोरखाको इतिहास झल्काउने एक मात्र ठाउँ हो लिगलिगकोट । लिगलिगकोटबाट गोरखा दरबार, धार्मिक महत्वको प्रसिद्ध मनकामना मन्दिर, छिम्केश्वरी मन्दिर, पालुङटार फाँट, दरौँदी फाँट, राइनासको फाँट, चेपे र मस्र्याङदी नदीका साथै विभिन्न हिमश्रृङ्खला तथा सूर्योदय र सूर्यास्तको अवलोकन पनि पर्यटकहरुले गर्न सक्दछन् ।
लिगलिगकोटमा नेपाल एकिकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान हो । लिगलिगकोट पुग्ने पर्यटकले अहिले दरवार नभए पनि दरवारको भग्नावशेष देख्न सक्दछन् । पर्यटकहरुले कोट आसपासमा भत्किएर भग्नावशेष रुपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका स–साना देवीदेवताका मन्दिर पनि लिगलिगकोटमा पुगेपछि अवलोकन गर्न सक्दछन् ।
इतिहासको काल खण्डमा गोरखामा विभिन्न राजाहरुको वंशद्धारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्यका राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन पटक हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बिसं १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोराले शासन चलाउन असमर्थ भए । त्यसपछि गोरखामा विभिन्न राज्यका मुखियाहरुले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले ।
यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिगकोट, माझकोट, सिरानचोक, अजिरकोट, बारपाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरु मध्ये लिगलिगकोटमा दौडबाट राजा छान्ने नयाँ परम्पराको थालनी भयो । राजाछान्ने क्रममा लिगलिगकोटका घलेहरु बडादसैंका दिन चेपे र मस्र्याङदीको संगम चेपेघाटमा भेला भई दसैको चाड मानी टीका लगाई भोज भत्यार खाने गर्दथिए । त्यसपछि सबै एकैचोटि दगुरेर जसले सबैभन्दा पहिले लिगलिगकोटमा पुग्न सक्यो त्यसैलाई सबैले टीका लगाएर त्यस वर्षको राजा मान्ने प्रथा बस्न गयो । यसरी लिगलिगकोटमा प्रत्येक बर्ष राजा फेरिने प्रचलनको सुरुवात भयो ।
वि.सं. १६०४ को असोजमा विजयादशमीका दिन पहिलोपटक १९ वर्षका दलसुर घले मगरले लिगलिग दौड प्रतियोगिता जितेर राजा भएका थिए । मरस्र्याडी नदी र चेपे नदीको संगमस्थल अर्थात चेपेघाट, लिगलिगे राजाहरुको दौड सुरु हुने स्थान बन्न गयो । तत्कालीन समयमा विशेष गरी त्यहाँको मगर समुदायमा चेपेघाटदेखि लिगलिगकोट सम्मको दौडमा प्रथम हुनेलाई राजा चयन गर्ने परिपाटी बस्यो ।
यसै क्रममा विक्रम संवत् १६१५ मा लमजुङे राजा यशोब्रम्ह्र शाहका कान्छा छोरा द्रव्य शाहलाई लिगलिगकै स्थानीयको सहयोगमा राजा हुने दौडमा सहभागी गराई राजा बनाइएको थियो । लमजुङे राजा यशोब्रम्ह्र शाहको राज्यकालमा तत्कालीन राजकुमार द्रब्य शाहलाई पूर्वी लमजुङको राइनासकोटमा तिरो भरो असुल गर्न र राज्य सन्चालनमा सहयोग पु¥याउन राखिएको थियो । त्यस समयमा उनि भेडिगोठमा बसने र ठेलो हान्ने र अन्य खेल पनि खेल्ने गर्दथिए । बलवान द्रव्य शाहको चतुर्याईंका कारण राजा बन्न सफल भए ।
द्रव्य शाहले दौड हुने दिन भन्दा अघिल्लो दौडमा सहभागी हुने मगर युवाहरुलाई चेपेनदीको किनारमा रागा बोका काटी रक्सी समेत खुवाएका थिए । त्यस बेला यो लिगलिगकोट दरबारदेखि चेपेतर्फको ओरालोको जंगलको बीचमा रहेको पाच्यान हुँदै उकालोमा दौडेर राजा हुने गर्दथिए । दौडका दिन इतिहासकार चेतेन्द्रजंग हिमालीका अनुसार राजा हुनका लागि यही उकालो दौडिएर घले मगरहरुहरु आउने कुरा द्रव्य शाहलाई थाहा थियो ।
शाह अगाडि दौडिँदै आए र यही पाच्यान भन्ने ठाउँमा खुकुरी लिएर बसे । द्रब्य शाह सँगै ६ जना दौडिएकोमा पाँच जनालाई तरबारले काटी एकै चिहान बनाएर उनी राजा हुन लिगलिगकोट पुगेका थिए । त्यही भएर त्यो ठाउँको नाम पाच्यानबाट पाँच चिहान भएको छ । षडयन्त्र गरी राज्य हत्याएका कारण द्रब्य शाहलाई षडयन्त्रकारी राजाको रुपमा पनि लिने गरिन्छ । लिगलिगकोटबाटै शाह वंशको स्थापना भएको हो । द्रव्य शाहदेखि २३ जना शाह वंशीय राजाहरुले नेपालमा शासन गरे । त्यसैले लिगलिगकोटलाई शाह वंशको सुरुवात भएको स्थान मानिन्छ । लिगलिगकोट दरबार क्षेत्रका ढुङगा ५ सय वर्ष अगाडि कटिङ गरिएको ढुङगा हो । पर्यटकहरुलाई आकर्षण गर्न हाल यिनै ढुङगालाई मिलाएर दरबारको जगको आकार बनाइएको छ ।
गोरखा र लमजुङ जिल्लाको सिमा भएर बग्ने चेपे नदी ऐतिहासिक मानिन्छ । चेपेघाटमा पृथ्वीनारायण शाहले वि.स. १७९६ मा लमजुङका राजा रिपुमर्दन शाहसंग सन्धि गरेका थिए । लमजुङको रागिनासकोट र गोरखाको लिगलिगकोट उत्तर दक्षिण आमने सामने पर्दछ । लमजुङका राजा नरहरि शाह र लिगलिगका राजा द्रव्य शाह दाजुभाइ हुन् । उनीहरु दुबै लमजुङे राजा यशोब्रम्ह्र शाहका छोरा थिए ।
राज्यबारे दाजुभाइबीचमा मनमुटाव भएपछि आमा सत्यवतीले दुबैलाई सँगै राखेर तिमी दुबै दाजुभाइ राज्य विस्तार गर्न वा एकअर्काको राज्यको विरोधमा चेपे नदी नतर्नू भनी आफ्नो स्तनबाट दूधका धारा बगाएकी थिइन् । त्यसरी आमाले आफ्नो दूधको धारा बगाएपछि आपसी मनमुटाव रहे पनि दुबै छोराले आमाको दूधको धाराको सम्मान स्वरुप चेपे नदी तरेर एक अर्काको राज्यमा दखल पु¥याउने काम गरेनन् भन्ने इतिहास छ ।
नेपालको करिब मध्य भागमा अवस्थित लिगलिगकोट एक प्रसिद्ध र ऐतिहासिक स्थान हो । द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिक स्थल लिगलिगकोटमा पर्यटकहरुलाई आकर्षण गर्न देशकै सबैभन्दा ठूलो नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ६० फिट उचाईको फलामे खम्बामा ४० फिट उचाईको राष्ट्रिय झण्डा टाढाबाट समेत झण्डा फरफराएको देखिने हुँदा त्यहाँ पुगेका पर्यटकहरु झण्डा देखिने गरी फोटो खिच्ने क्रम बढेको छ ।
लिगलिगकोटको थुम्कामा झण्डा फररर भएपछि ऐतिहासिक खोज अनुसंन्धान गर्ने पर्यटकहरु पुग्ने गरेका छन् । लिगलगिकोटमा राखिएको झण्डाले सबै नेपालीमा राष्ट्रियताको भावना जागृत गराएको छ । लिगलिगकोटलाई पर्यटनको बिकास गर्न पर्यटकहरुलाई आकर्षण बढाउन टेलिस्कोप राख्ने, पदयात्राको लागि सिँढी बनाउने र दुईवटा पार्क निर्माणको काम भइरहेको छ । अर्को तर्फ संग्रहालय निर्माणको योजना पनि रहेको छ ।
लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको नाम हो । मगरभाषामा लिङलिङ भन्नाले स्निग्ध, सफा, कञ्चन, खुल्ला प्राकृतिक दृश्य भन्ने बुझिन्छ ।
लिगलिगमा लामो समयसम्म घले मगरहरुको शासन रहेका थिए । लिगलिगकोट दरबारबाट हेर्दा अहिले पनि चारै क्षीतिजका प्राकृतिक छटाहरु खुला, देखिने भएकाले लिङलिङबाट नै लिगलिग रहन गएको तर्क गरिन्छ । लिगलिगकोट पहिले मगर राज्य रहेको थियो । यो राज्यमा बढी चलनचल्तीमा मगरभाषा थियो । खस राजाहरुले गोरखा राज्य कब्जा गरेपछि मगरभाषाको सट्टा खसभाषा प्रयोगमा आउन थालेको हो ।
गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको लिगलिगकोटमा घुमफिर गर्नको लागि पर्यटकको रोजाइ पर्न थालेको छ । लिगलिगकोटमा आजभोली आन्तरिक एवं वाह्य पर्यटकहरु, शैक्षिक भ्रमण र पिकनिकका लागि विद्याथीहरु जाने क्रम बढन थालेको छ । लिगलिगकोटमा पुग्ने पर्यटकको लागि सहयोगी टुर गाइडको रुपमा स्थानिय मानिसहरुले सहयोग गर्दै आएका छन ।
लिगलिगकोटको डाँडाबाट सेता टिलिक्क टल्कने बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन भन्दा बढि हिम श्रृङखलाहरुको अवलोकन गर्न सकिन्छ । हिमालहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । लिगलिगकोटमा अन्तर्राष्ट्रिय स्तरको म्युजियम पनि बन्ने भएको छ ।
म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहास जस्ता सामाग्री राखिने छ । लिगलिगकोटलाई लक्षित गरेर चेपेघाट, लिगलिगकोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्म पदमार्ग निर्माण हुन लागेको छ ।
लिगलिगबासीहरुले लिगलिग विकास अभियान नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट राजा हुने दौडलाई पुनः सुरु गरेका छन् । अहिले दौडबाट राज्य हत्याउन सक्ने अवस्था त छैन तर राजकीय सम्मान गर्ने परम्परा भने सुरु गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र आन्तरिक पर्यटनमा वृद्धि गर्ने उद्देश्यका साथ सुरु गरिएकोे यो प्रतियोगिता प्रत्येक वर्ष फूलपातीको अघिल्लो दिन प्रतियोगितात्मक रुपमा दौड गर्ने गरिन्छ ।
दौड चेपेघाटबाट सुरु भएर ठाँटीपोखरी, थापाथोक, बडडाँडा, सभापीपल, मैवल, बिजुलीडाँडा, खोल्लीगाउँ हुँदै लिगलिगकोट दरबार परिसरमा पुगेर समापन हुने गर्दछ । लिगलिगे दौडमा चेपे र मस्र्याङदी नदीको दोभानबाट लिगलिगकोट सम्मको १३.५ कि.मी दूरी पर्दछ । प्रतियोगिताको उपाधि विजेताले श्रीपेच र पगरीको साथमा नगद पनि पुरस्कार प्राप्त गर्दछन । भने एक रात लिगलिगको राजा बनाइन्छ र वर्ष दिनसम्म अवैतनिक दूत बनाइने प्रचलन छ ।
लिगलिगकोटमा जादा पर्यटकहरुलाई खाना बस्नको लगि केहि समस्या पर्दैन । स्थानीयले लिगलिगकोटमा होमस्टे सुरुवात गरेका छन् । होमस्टेमा पर्यटकहरुलाई अर्गानिक खाना खुवाउन स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरिएको छ । स्थानीय जातका कुखुरा, खसीबोकाको मासु, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकार पर्यटकहरुको रुचि अनुसार दिने गरिन्छ ।
लिगलिगकोट कसरी पुग्ने ?
लिगलिगकोट पुग्न विभिन्न बाटाहरु रहेका छन् । तनहुँ जिल्लाको डुम्रेबाट तुरतुरे हुदै पालुङटारबाट लिगलिगकोटसम्म पुग्न सकिन्छ । त्यस्तै लमजुङको बेसीसहरतिरबाट राइनास नगरपलिकाको धमिलिकुवा हुदै पनि यहाँ पुग्न सकिन्छ भने बेसीशहरबाट तुरतुरे आएर पनि यहाँसम्म पुग्न सकिन्छ ।
गोरखा सदरमुकामबाट छेपेटार–खोप्लाङ–लुइँटेल–बडडाँडा हुँदै पनि जान सकिन्छ । जुनसुकै ठाउँबाट आएपनि गाडीबाट ओर्लिएको २० मिनेटमा लिगलिगकोट क्षेत्र पुग्न सकिन्छ । विशेगरी पिकनिक आउनेहरुको मागलाई ध्यानमा राखी समितिले खोल्ली गाउँबाट लिगलिगकोटको गेटसम्म गाडी पुग्ने व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्