| बिहिबार, मंसिर २०, २०८१

‘निषेधित क्षेत्रका नागरिकको उद्धारमा समस्या भइरहेको छ’, : सांसद बजगाईँ

सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गोरखाको मनास्लु क्षेत्रका बिरामीलाई हेलिकप्टरमा उद्धार गर्न समस्या भइरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार यस कुरामा गम्भीर ध्यान पुर्‍याउन नसकेको उनले बताए ।

‘‘सरकारले उद्धारमा उदासिनता देखायो। वृद्धभत्ता लिन जाँदा लडेका वृद्धको झण्डै २२ घन्टामा उद्धार गरियो,’ उनले भने, ‘निषेधित क्षेत्रको औचित्य केका लागि ? चीनका लागि कि हाम्रा लागि ?’

निषेधित क्षेत्रमा आफ्नै नागरिकले उद्धार नपाएको उनले बताए ।

पर्यटन व्ययसायी समेत रहेका सांसद बजगाईले देशभित्र नागरिकको उद्दार गर्न सकदैन भने त्यो देशको के औचित्य भन्दै मनास्लुलगायत नेपालको हिमाली भूभागलाई निषेधित क्षेत्र बनाइनुको कारण माग गरे ।

बजगाईले भने- यो निषेधित क्षेत्र कसका लागि ? दलाई लामा निर्वाचित भएपछि तिब्बतमा खम्पा विद्रोह भयो । त्यसबेला नेपालमा पनि तिब्बतसँग जोडिएका ठाउँलाई निषेधित गरियो । तर अहिले त युद्ध पनि छैन, तिब्बतमा निर्वाध पर्यटकहरु घुमिरहेका छन्, हाम्रोमा यो निषेधित क्षेत्र कस्का लागि हो सरकारले जवाफ देओस् ।

त्यस्तै, बजगाईले देशको अर्थतन्त्र सङ्गिन मोडमा रहेको बताएका छन्। उनले सरकार र अर्थमन्त्रीले यस कुरामा गम्भीर ध्यान पुर्‍याउन नसकेको बताए।

‘यसबारे सरकार र अर्थमन्त्रीलाई पनि कुरा राखियो तर उहाँहरू अलि मौन नै हुनुहुन्छ,’ उनले भने, ‘हाम्रै दलबाट अर्थमन्त्री हुनुहुन्छ।’

ट्राभल एजेन्सीहरूलाई भ्याटमा आकर्षित गर्न माग गरिए पनि सरकारले नसुनेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्