
बजारसम्म ढुवानी हुन नसक्दा व्यवसायिक स्याउ किसान निराश
लामो समयदेखि गोदाममै स्याउ थन्किएपछि उत्तरी गोरखाका अगुवा स्याउ किसानहरु निराश भएका छन् ।
सफल व्यवसाय गरी अरु किसानलाई समेत स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले ठूलो लगानी गरेका किसान लाक्पाडुण्डुप लामा स्याउ ढुवानी गर्न नसकेपछि निराश भएका छन् ।
अहिले उनको बगैंचाको ३० हजार किलो स्याउ घरमै थन्किएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित स्याउबारीको १२ हजार वटा बोटमा फलेको स्याउ टिपेर घरमै थन्क्याएर राखेको किसान लाक्पाडुण्डुप लामाले जानकारी दिए । ‘हाम्रो गाउँपालिकामा मोटरबाटो छैन ।
खच्चडले चार, पाँच दिनको बाटो बोकेर सहर बजारमा पु¥याउँदा बिग्रिने सम्भावना हुन्छ भनेर अहिलेसम्म स्याउ ढुवानी गरेको छैन’, लामाले भने, ‘पोहोर हिमाल चढ्न आएका आरोहीहरुलाई छोडेर फर्कने हेलिकोप्टरमा ढुवानी गरेको थिएँ । यसपटक सरकारले हेलिकोप्टर जहाँपायो त्यही ल्याण्ड गर्न पनि दिएन । त्यसैले ढुवानी नै गर्न सकिएन ।’ स्याउ ढुवानी नहुँदा निराश बनाएको उनले बताए ।
‘उत्तरी गोरखामा व्यवसायिक रुपमा स्याउ खेती गरौँला, अरुलाई पनि व्यवसाय गर्न प्रोत्साहन होला भनेर तीनसय रोपनी क्षेत्रफलमा १२ हजार बोट स्याउ लगाएको थिएँ’, लामाले भने, ‘यसपालि ३० हजार किलो स्याउ उत्पादन भएको छ तर ढुवानी गर्न सकिएन । आफै निराश भएँ ।
आरुलाई कसरी हौसला दिउँ ?’ किसान आफैले हेलिकोप्टर चार्टर गरेर स्याउ ढुवानी गर्दा लागत अत्याधिक बढेर बजारको स्याउसंग प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । अरुले चार्टर गरेको हेलिकोप्टरमा साझेदारी गरेर ढुवानी गर्दा स्याउ सुरक्षित तवरले बजारमा पुग्ने र लागत पनि कम हुने भन्दै उनले सो सहजीकरण सरकारी पक्षबाट नभएको उनको गुनासो छ ।
दशैं तिहारको मुखमा गोरखा बजारसम्म मात्रै ल्याउन पाए पनि धेरथोर राहत हुने उनको अपेक्षा छ । ‘गोरखा बजारसम्म मात्रै ल्याउन पाए पनि दशैं तिहारमा बिक्री हुन्थ्यो’, उनले भने, ‘खच्चडलाई बोकाएर ल्याउँदा यता उता ठोक्किएर सबै बिग्रिँदो रहेछ । मान्छेले बोक्दा झन बढी खर्च लाग्छ ।’ करिब ३० हजार किलो स्याउ टिपेर गोदाममा थन्क्याएको उनले बताए । ‘सिजन सुरु भएदेखी लगभग ३० किलो हजार जति स्याउ टिपेर स्टोर गरेर राखिएको छौं’ लामाले भने, ‘गतबर्ष काठमाडौँको भाटभटेनी सुपरमार्केटमा राखेर राम्रै भाउमा बेचेको थिएँ ।
तर यसपालिका बेच्न पाइएन ।’ उच्च गुणस्तरको स्याउ भएकाले भारत, चीन, जापान, अमेरिका, स्विजल्याण्ड लगायतका देशबाट पनि स्याउको माग आएको बताए । उनले १२ हजार पाँचसय वटा बोटमा स्याउ खेती गर्दै आएका छन् । पोहोरको सालमा भन्दा यो वर्ष केही बढी स्याउ फलेको उनले जानकारी दिए । ‘यो वर्ष एउटै बोटमा २५ देखि ३० किलोसम्म स्याउ फलेको छ’ उनले भने ‘बाह्रहजार पाँचसय बोटमा कम्तिमा पनि ३० हजार किलो फलेको छ भन्ने अनुमान छ ।’
स्थानीय बजारमा अहिले खुद्रामूल्य प्रतिकेजी रु ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा बेचिरहेको उनले बताए । बजारसम्म पु¥याउन सके यो वर्ष मूल्य केही समायोजन गरेर स्याउ बिक्री गर्ने योजना समेत रहेको लामाले बताए । स्थानीय स्तरमा नै स्याउको विभिन्न परिकार बनाएर बिक्री गर्ने गरेको उनले बताए ।
लामाका अनुसार घरायसी प्रयोजनका लागि एप्पलसाइडर, जुस, जाम, सुकुटी जस्ता परिकारहरु बनाएर बिक्री गरेको बताए । यहाँ गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच जातका स्याउ उत्पादन हुने गर्छ ।
लाक्पा डुण्डुप लामाले आफ्नो स्याउलाई ‘चुमनुब्री स्याउ’ नामाकरण गरेका छन् ।
समुद्री सतहबाट २७ सय मिटर उचाइमा फलेको रासयनिक मल, औषधी प्रयोग नगरी उत्पादन गरिएकाले अत्यन्तै रसिलो, स्वस्थ र स्वादिलो रहेको उनले जानकारी दिए ।