| बुधबार, बैशाख १९, २०८१

छेपेटारमा दश बर्षपछि रोटेपिङ स्थापना

मनोरञ्जनका अत्याधुनिक साधनको विकास हुँदै जाँदा गाउँ–बस्तीका परम्परागत मनोरञ्जनका साधनको अस्तित्व संकटमा पर्न थालेका छन् । सहरीकरण र त्यसको प्रभाव बढ्दै जान थालेपछि विशेषगरी चाडपर्वका बेला खेलिने रोटेपिङ, लिङ्गे पिङहरु गाउँटोलबाट हराउँदै जान थालेका हुन् ।

मौलिक परम्परा हराउँदै जान थालेपछि विभिन्न गाउँठाउँका स्थानीयबासी जुटेर पुन ती पिङहरु निर्माण गर्ने क्रम पनि सुरु भएको छ । सहरीकरण हुदै गएको गोरखा नगरपालिका वडा नं १० छेपेटारमा स्थानीयहरु पिङ संरक्षणमा जुटेका छन् । पिङ निर्माण गर्न छाडेको १० बर्षपछि साझा टोल विकास संस्था, स्थानीयबासी र वडा कार्यालयको संयुक्त पहलमा त्यहाँ रोटेपिङ निर्माण गरेका छन् ।

गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर धर्ती छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । तर यहाँ रोटे पिङ बनाउन छाडिएको एक दशक भन्दा धेरै नै भइसकेको थियो । संस्कृतिकै रूपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो देखाएकाले वडाको समन्वयमा पिङ बनाएको वडा अध्यक्ष प्रदीप कुँवरले बताए ।

वडा कार्यालयसंग समन्वय गरी साझा टोल विकास संस्थाले स्थानीयबासीको साथ लिएर रोटेपिङ बनाएको हो । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि ठूलालाई रोटेपिङ र साना बालबालिकाहरुलाई दुई वटा पिर्के पिङ बनाएको छ । दशै र तिहार सकिएपछि पिङका सबै काठ सुरक्षित साथ थन्काएर राखिने र अर्को वर्ष त्यही फिट गर्ने उनले बताए ।

सोहि वडाका स्थानीय डिल कुमारी धितालका अनुसार छेपेटार बजारमा रोटेपिङ नदेखेको धेरै वर्ष भइसकेको थियो । धेरै वर्षसम्म पिङ खेल्न नपाउँदा मन खल्लो हुने गरेको र अहिले रोटे पिङ खेल्न पाउदा धेरै खुसी लागेको उनले बताइन् । दसैँका बेलामा बस्तीका टोलटोलमा पिङ हाल्ने प्रचलन युवा पुस्ताले चासो नदिदाँ बिस्तारै लोप हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्