
दुई करोडको लागतमा बन्यो मणिकामदेवी माविको छात्रावास भवन
धार्चे गाउँपालिका–४ लाप्राकस्थित मणिकामदेवि माध्यमिक बिद्यालयको छात्रावास भवन निर्माण भएको छ । दुई करोड १३ लाख ७६ हजार लागतमा निर्माण भएको भवनको उद्घाटन समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र लेजामी दि लाप्राक फ्रान्सका अध्यक्ष क्रिश्चियन गुइलेमोटले एक कार्यक्रमका बीच संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।
लेस एमिस दि लाप्राक, फ्रान्सको आर्थिक सहयोग र गणेश हिमाल एशोसिएसन काठमाडौ नेपालको समन्वयमा भवन निर्माण भएको बिद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । उनका अनुसार भवनमा कुल १६ कोठा रहेका छन् । २०७८ साल मंसिर महिनाबाट भवन निर्माण कार्य सुरु भएको थियो । २०७९ चैत्र ३० गते काम सम्पन्न भएको बताइएको छ । ‘भित्रै शौचालय भएको दुई तले भवन बनेको छ, माथिल्लो तलामा ठुलो हल छ,’ प्रअ गुरुङले भने । यसअघि अस्थायी टहरामा छात्रावास संचालन हुदै आएको थियो । सुविधा सम्पन्न भवन बनेसँगै आवासिय सुविधा सहित छात्रावासमा बस्दै आएका विद्यार्थीहरुका धेरै सहज हुने उनले बताए । उनका अनुसार बारपाक, गुम्दा, काशीगाउँ, खोर्ला, सिङ्ला लगायतका ठाउँका विद्यार्थीहरु छात्रावास सुविधा सहित बिद्यालयमा अध्यनरत छन् ।
भवन उद्घाटन कार्यक्रमकै अवसरमा लेस एमिस दि लाप्राक फ्रान्स नामक संस्थाले विद्यालयमा अध्ययनरत इसिडी देखि कक्षा १२ सम्मका चार सय ६१ जना विद्यार्थीलाई झोला वितरण समेत गरेको छ । त्यस्तै २०७९ मा कक्षा १२ उतिर्ण गरेका ९ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति समेत उपलब्ध गराइएको बताइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आस बहादुर गुरुङ, धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, वडाध्यक्ष किसान गुरुङ, गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङ, लेस एमिस दि लाप्राक, फ्रान्सका सहयोगी दाताहरु लगायतको उपस्थिति रहेको थियो ।