
प्रहरीको फरार सूचीमा रहेका तमू जुवाखालबाट पक्राउ
प्रहरीको फरार सूचीमा रहेका निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष दिनेश गुरुङ (तमू) जुवाको खालबाट पक्राउ परेका छन् । सोमवार साँझ प्रहरीले गोरखा नगरपालिका–४ पिपलथोकबाट उनीसहित पाँच जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।
गत असोज ४ गते सडकको ठेक्का हालेको बिषयलाई लिएर आफूमाथि कुटपिट गरेको भन्दै गोरखा नगरपालिका–१ छापथोकका रमन भट्टले गुरुङ बिरुद्ध प्रहरीमा जायरी दिएका थिए । घटना लगतै फरार रहेका गुरुङलाई गत असोज ९ गते सार्वजनिक शान्ति बिरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले खोजी कार्य तिव्र पारेको थियो । प्रहरी निरीक्षक शेखर खड्काका अनुसार उनी बिरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । ‘घटनापछि उनी फरार थिए, हामीले खोजी कार्य तिव्र पारेका थियौँ,’ उनले भने, ‘सोमवार जुवाडे समाउने क्रममा उनी पनि परे ।’
उनीसहित जुवाको खालबाट पक्राउ परेकाहरु बिरुद्ध मंगलवार जुवा सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक खड्काले बताए । उनका अनुसार गुरुङलाई यस अघिको मुद्दामा पनि आवश्यक अनुसन्धान भइरहेको छ । निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष समेत रहेका गुरुङलाई जुवा ऐनसँगै यस अघिको मुद्दामा पनि थप कारवाही हुने उनले जानकारी दिए ।