| आइतवार, कार्तिक १८, २०८१

गोरखामा सचेतना कार्यक्रमले घटायो सवारी दुर्घटना

चाडबाडका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लापार्बाहीपूर्वक सवारी चलाउने तथा सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने आदि कारणलेसवारी दुर्घटना धेरै हुने गरेका थिए । तर यसपटकको दशैँमा गोरखामा जम्मा दुईवटा सवारी दुर्घटना भए । छ जना सामान्य घाइते भए ।

तीनबर्षअघिको दशैँका बेला सवारी दुर्घटनामा आठजना घाइते भएका थिए । गतबर्ष दशैँका बेला जिल्लाभित्र एउटा मात्र सवारी दुर्घटना भयो । जम्मा एकजना घाइते भए ।

तीनबर्षको यो अवधिमा जिल्लामा गुड्ने सवारीसाधनको संख्या उल्लेख्य वृद्धि भयो । सवारी चल्ने सडकको विस्तार पनि धेरै नै भयो तर सवारी दुर्घटना भने घट्दै गयो ।

यो तथ्यले दण्ड, जरिबाना, कारबाही, कैद सजायँले मात्र शान्ति, सुरक्षा सुव्यवस्थित हुन्छ, दुर्घटना न्यूनिकरण हुन्छ भन्ने कथ्यलाई झुठो सावित गरिदिएको छ । त्यसैले अहिले प्रहरीले मुस्कानसहितको सेवा, प्रहरी मेरो साथीजस्ता रचनात्मक कार्यक्रमलाई तिब्रता दिन थालेको छ ।

जतिबेला गल्ती गर्नेलाई कडा कारबाहीको त्रासमा राखिन्थ्यो, त्यतिबेलाको तुलनामा प्रहरीले अहिले गल्ती, कमजोरीलाई कमजोर पार्न सचेतना कार्यक्रमलाई बढवा दिन थालेको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालयले गरेको सचेतनामुलक कार्यक्रम र सवारी दुर्घटनाको घट्दो दर हेर्दा दण्ड, कारबाही र जरिबानाको त्रास देखाएर भन्दा सचेतनामुलक कार्यक्रम गरेर दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भन्ने पुष्टि हुन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले आर्थिक बर्ष २०७७÷०७८ मा १४० पटक सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यो बर्ष १७ वटा सवारी दुर्घटना भए । ११ जनाको मृत्यू भयो । ५७ जना घाइते भए ।

पछिल्लो बर्ष २०७८÷०७९ मा २८८ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन ग¥यो । कार्यक्रमबाट २३ हजार जना ट्राफिक नियमबाट सुसुचित भए । त्यसबर्ष १९ वटा सवारी दुर्घटना भयो । १३ जनाको मृत्यू भयो, २८ जना घाइते भए । त्यसको पछिल्लो बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले तेह्रसय चालीसपटक ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन ग¥यो । त्यसबाट एकलाख ३३ हजार ७१९ जना सुसुचित भए । त्यसबर्ष २२ वटा सवारी दुर्घटना भयो । १९ जनाको मृत्यू भयो, ४७ जना घाइते भए ।

‘घटना संख्या एकदुईवटा थपिएजस्तो देखिएको छ, तर बर्षेनी सवारी साधन संख्या र सडक क्षेत्र दोब्बर जस्तै वृद्धि भइरहेको छ । यस्तो अबस्थामा घटना एकाध मात्र वृद्धि हुनु भनेको त्यो बढेको होइन, घटेकै हो’, जिल्ला ट्राफिक प्रहरी प्रमुख वेदनाथ भण्डारीले भने, ‘यसपटक दशैँमा हेर्नुस् त जम्मा दुईवटा मात्र सवारी दुर्घटना भयो । सवारी दुर्घटना कमी हुनुको मुख्य कारण भनेकै चालक सचेत हुनु हो । ट्राफिक प्रहरीको खटाइका कारण पनि दुर्घटना न्यूनिकरण भएको हो ।’

पोखरास्थित प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सुमनकुमार तिमिल्सिना र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठको जोडबलमा ट्राफिक सचेतना कार्यक्रमलाई तीब्रता दिएका कारण सवारी दुर्घटना न्यूनिकरण भएको भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्