| शनिबार, कार्तिक १७, २०८१

छेकम्पारको वुद्ध प्राविमा खेताला शिक्षक

चुमनुब्री गाउँपालिका ७ छेकम्पारस्थित वुद्ध आधारभूत विद्यालयका स्थायी शिक्षक दोर्जे छेदेन लामाले आफ्नो सट्टामा खेताला शिक्षकलाई पढाउन पठाई आफू विद्यालय नजाने गरेको पाइएको छ । आरुघाट गाउँपालिका मान्बुकी मञ्जरी गुरुङलाई खेतालाका रुपमा विद्यालय पठाएर उनी काठमाडौँतिरै व्यवसाय गरेर बस्ने गरेका हुन् ।

बिगत छ महिनादेखि खेताला शिक्षकलाई पढाउन पठाउने गरेका व्यवस्थापन समितिका अध्यक्ष लाक्पा नोर्बु लामाले जानकारी दिए । ‘हामी नियम कानून नजानेका मान्छे धेरै बोल्न पनि मिल्दैन । एकजना मिसलाई पढाउन पठाउने गर्नु भएको छ । कुन नियम, कानूनअनुसार खेताला शिक्षक राख्नु भएको हो थाहा छैन’, अध्यक्ष लामाले भने, ‘हामी अध्यक्षचाहिँ स्यालजस्तो हो, उहाँहरुचाहिँ बाघजस्तो हो ।

हामी अध्यक्षचाहिँ नोकरजस्तो हो, उहाँहरुचाहिँ मालिक जस्तो हो । यस्तो गर्न पाइँदैन भन्दाखेरि पोहोर मसित झगडा भयो । उहाँहरु पढेलेखेको, नियम कानून जानेको मान्छे हामीचाहिँ नपढेको, नियम कानून नजान्ने मान्छे, बोल्न पनि डर मान्नुपर्ने अबस्था छ ।’

बिगत डेढबर्षदेखि सो विद्यालयमा पढाउने शिक्षक लामाले बिगत ६ महिनादेखि खेताला शिक्षक राखेका हुन् । त्यसअघि आफू पनि विद्यालय नजाने र खेताला शिक्षक पनि राख्ने गरेका थिएनन् । स्थानीयले कि आफू आउनु पर्ने, कि सट्टामा अर्को शिक्षक खटाउनु पर्ने भनेर विरोध गरेपछि उनले खेताला खोजेर पठाउन थालेका विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

बिगत २७ बर्षदेखि अस्थायी सेवामा रहेका लामा २०६१ सालमा स्थायी नियुक्त भएका हुन् । यसअघि छेकम आधारभूत विद्यालयमा रहेका उनलाई त्यहाँ विद्यार्थी न्यून भएकाले गाउँपालिकाले दरबन्दी मिलान गरी डेढबर्षदेखि गाउँ शिक्षा कार्यालयले वुद्ध आधारभूत विद्यालयमा काजमा खटाएको हो ।

पाँच कक्षासम्म सञ्चालन भएको वुद्ध आधारभूत विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययरत छन् ।
गत जेठ महिनामा वडाअध्यक्ष र प्रधानाध्यापकहरुसंगको संयुक्त बैठकमा शिक्षक स्वयं विद्यालय हाजिर भएर पढाउनु पर्ने, सट्टामा कसैले कसैलाई राख्न नपाउने लगायतका विषयमा निर्णय गरेको गाउँ शिक्षा कार्यालयका प्रमुख बासुदेव ओली बताउँछन् ।

‘हामीले बेलाबेला संयुक्त बैठक राखेर सट्टामा कसैले कसैलाई राख्न नपाउने भनेर निर्णय पनि गरेका छौँ, सचेत पनि गराइरहेका छौँ’, ओली भन्छन्, ‘तर अहिलेसम्म कहीँ पनि खेताला शिक्षक राखिएको भनेर उजुरी आएको छैन । बेलाबेला हामी पनि गाउँमा जाँदा त्यस्तो अबस्था देखिएको थिएन । अहिले पहिलो पटक थाहा पाएँ ।’ यस बिषयमा के गर्ने भनेर कार्यपालिकासंग सल्लाह गरी अघि बढ्ने उनले बताए ।

सो विद्यालय रहेको छेकम्पार तिब्बती सीमा क्षेत्रमा पर्ने दुर्गम गाउँ हो । गोरखा सदरमुकामबाट ५० कोश टाढा रहेको यहाँसम्म पुग्न सदरमुकामबाट तीन दिन पैदल हिड्नुपर्छ । त्यहाँसम्म मोटरबाटो पनि पुगेको छैन । गुणस्तरीय शिक्षाको खोजीमा यहाँका अधिकांश बासिन्दाले आफ्ना सन्तानलाई काठमाडौँ तथा भारतको धर्मशाला लगायतका ठाउँमा पढ्न पठाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्