| बुधबार, अशोज २३, २०८१

गोरखाका तीनसयभन्दा धेरै कुकुरको बन्ध्याकरण

जिल्लाको बिभिन्न स्थानीय तहमा रहेका तीन सयभन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सम्बन्धित पालिकाको संयुक्त आयोजनामा संचालित बन्ध्याकरण शिविरमा हालसम्म ३६७ वटा कुकुरको बन्ध्याकरण भएको बताइएको छ ।

पशु सेवा विज्ञ केन्द्रका अनुसार आरुघाटमा १७२, बारपाक सुलिकोटमा ११५ र अजिरकोटमा ८० वटा कुकुरको बन्ध्याकरण भएको छ ।

‘जिल्लाका पाँच स्थानीय तहमा संचालन गर्ने गरी यही कात्तिक १७ गतेबाट शिविर सुरु गरेका हौँ’, कार्यालयकी निमित्त प्रमुख सर्मिला कुमालले भनिन्, ‘तीन स्थानीय तहमा सकियो अब सिरानचोक र पालुङटार नगरपालिकामा बाँकी छ ।’ सिरानचोकमा आज र पालुङटारमा भोली शिविर संचालन हुने उनले जानकारी दिइन् ।

‘पालिकाको कुनै एक ठाउँमा शिविर संचालन गर्छाै, कुकुरहरु भने खोजेर संकलन गरेर ल्याउछाँै, बन्ध्याकरणपछि पुनः त्यही ठाउँमा लगेर छाडिदिन्छौँ,’ कार्यालय निमित्त प्रमुख कुमालले भनिन् ।

बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेविज बिरुद्धको खोप पनि लगाइएको उनले बताइन् । सामुदायिक कुकुरको संख्या न्यूनिकरण गर्दै रेविज रोग नियन्त्रण गर्ने उदेश्यका साथ शिविर संचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार शिविर भोलिसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्