| आइतवार, असार ३१, २०८१

लोक्पामा निरन्तर सुख्खा पहिरो : २२ घरधुरी उच्च जोखिममा


पछिल्ला दिनहरुमा निरन्तर सुख्खा पहिरो जान थालेपछि गोरखाको एक दुर्गम लोक्पा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । केहीदिनदेखि निरन्तर सुख्खा पहिरो जाँदा चुमनुब्री गाउँपालिका वडा नं. ६ लोक्पाको हिड्ने बाटो पनि पहिरोले लगिसकेको र २२ घर उच्च जोखिममा परेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए ।


गाउँपालिकाको केन्द्र फिलिमबाट लोक्पा जाने बाटोमा गतबर्षको यसैबेला ठूलो पहिरो झरेको थियो । सो पहिलो अहिले पनि लगातार गइरहेको हो । स्यारखोलामा झरेको सो पहिरो अहिले गाउँ नजिकै पुगिसकेको वडाअध्यक्ष लामाले बताए ।


निरन्तरको पहिरोले आज देखेको जमिनको ठूलो क्षेत्र भोलिपल्ट पहिरोमा बगेर गइसकेको हुने उनले बताए । ‘एकवर्षअघि दशैँमा ठूलो पानी परेपछि पहिरो जान सुरु भएको थियो । त्यसयता सो पहिरो क्रम निरन्तर रहेको छ’, लामाले भने, ‘अहिले पनि त्यो पहिरोले लाक्पा दोर्जे लामाको पाखोबारी बगाइरहेको छ । सुख्या पहिरो अझै गइरहेको छ ।’ सो स्थान भन्दा माथि तिरका धेरै जमिन पनि चिरा चिरा परेकाले पहिरो निरन्तर जाने संकेत देखिएको उनले बताए ।


बाटो पहिरोले लगेपछि अहिले गाउँ जाने बाटो अन्यत्रबाट घुमाएर परिवर्तन गरिएको छ । ‘अहिले गाउँ र पहिरोको दुरी करिब एकसय मिटर रहेको छ’, उनले भने, ‘पहिरो निरन्तर गइरहेको छ, त्यसैले लोक्पाको २२ घर पहिरोको उच्च जोखिममा छ ।’
अहिले पहिरोका कारण पदमार्ग उच्चजोखिममा परेकाले स्थानीयहरुलाई उक्त बाटो हिडडुल नगर्न गाउँपालिका र वडा कार्यालयले सूचित गरेको छ । केहीदिन अघि सूचना टाँस गरी अर्को वैकिल्पक बाटो प्रयोग गर्न आग्रह गरिएको वडाअध्यक्ष लामाले बताए । वैकल्पिक बाटो लामो र घुमाउरो भएकाले खच्चडहरु लैजान भने समस्या पर्ने गरेको उनले बताए ।


पहिरो निरन्तर जारी रहेकाले तत्काल बाटो बनाउन सम्भव नभएको पनि उनले बताए । यसका बारेमा पालिका अध्यक्षसँग छलफल भएको बताउदै भूर्गभविद् ल्याएर अध्ययन गर्नुपर्ने देखिएको उनले बताए । तल ठूलो पहिरो झरेपछि गाउँ वरिपरिको जमिनमा ठूलाठूलो धाजा फाटेको स्थानीयको भनाइ छ ।


लोक्पा पुग्नुअघिको बाटोमा पनि ठूलो पहिरो र लोक्पाबाट अगाडि जाने बाटोमा पनि ठूलो पहिरो भएका कारण स्थानीयबासी समस्यामा परेका छन् । दुबै मूलबाटो पहिरोको जोखिममा रहेकाले स्थानीयबासी र चुमभ्याली जाने पर्यटक पनि ज्यान जोखिममा राखेर हिड्नु परेको वडाअध्यक्ष लामाको भनाइ छ । पर्यटकीय सिजनमा गाउँ पहिरोको घेराभित्र रहेकाले पर्यटन व्यवसाय पनि धरासायी भएको व्यवसायीहरुको भनाइ छ ।


तस्वीर ः सरोज लामा

प्रतिक्रिया दिनुहोस्