
शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा
केशव गुरुङ :
किताबमा पढेको ठाउँ हेर्न पाउँदा विद्यार्थी दंग
यसबर्षको शैक्षिक भ्रमणको सिजन शुरु भइसकेको छ । बिभिन्न जिल्लाका विद्यालयबाट गोरखा भ्रमणमा आउने क्रम बढ्न थालेको छ ।
ऐतिहासिक महत्व भएकै कारण पनि गोरखा जिल्ला देशभरकै लागि शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बनेको छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह जन्मेको र राज्य एकीकरण अभियान सुरु गरेको थलो भएकै कारण पनि गोरखा शैक्षिक भ्रमणको मुख्य गन्तव्य बनेको भ्रमणमा आउने शिक्षक एवं विद्यार्थीहरु बताउँछन् ।
पाठ्यपुस्तकमा समेत यसबारे पढ्नुपर्ने भएकाले पनि गोरखालाई शैक्षिक भ्रमणको गन्तव्यको रुपमा छानिएको धादिङको सिद्धलेख गाउँपालिकाको मिन्दुका माविका शिक्षक बलराम अधिकारीले बताए ।
‘गोरखा हाम्रो इतिहास हो, हाम्रा वीर पुर्खाहरुको गौरव पनि हो,’ उनले भने, ‘हामीले सामाजिकमा पढाउदै आएको कुराको स्थलगत भ्रमण गराउँदा बिद्यार्थी पनि खुशी छन् ।’ अध्ययन, अवलोकन भ्र्रमणले विद्यार्थीहरुमा नेपालको एकीकरणको इतिहासको बारेमा थप कुरा जान्न र बुझ्नका साथै यसको महत्वका बारेमा थप प्रष्ट हुन सहयोग पुग्ने उनको भनाइ छ ।
शैक्षिक भ्रमणका लागि बिद्यार्थी लिएर आएका चितवनको भरतपुर महानगरपालिका–१६ स्थित दुर्गा शेषकान्त नमूना माविका शिक्षक प्रेमनिधि पौडेलले गोरखा आफैमा ऐतिहासिक पृष्ठभूमि बोकेको जिल्ला भएकाले शैक्षिक भ्रमणको गन्तव्य बन्ने गरेको बताए ।
पृथ्वीनारायण शाह र शाह वंशको बारेमा थप कुराहरु बुझ्न पनि विद्यार्थीलाई गोरखा भ्रमण गराइएको उनले जानकारी दिए । गोरखा भ्रमण गर्न विद्यार्थी पनि उत्सुक हुने गरेको उनको भनाइ छ ।
सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत आशिष नेपालीले गोरखा संग्रहालय र गोरखादरबारको अवलोकन गर्न पाउँदा धेरै खुशी लागेको बताए । ‘कक्षामा सामाजिक विषयमा नेपालको इतिहास र गोरखाको बारेमा पढेका थियौँ’, उनले भने, ‘आज यहीँ आएर इतिहास सम्बन्धी धेरै कुराहरु हेर्न र बुभ्mन पायौँ, धेरै नै खुसी लागेको छ ।’ नेपालको इतिहासबारे सबैले जान्नुपर्छ भनेर कक्षामा सबैसँग छलफल गरी गोरखा घुम्न आएको उनले बताए ।
त्यस्तै चितवनको माडी नगरपालिका स्थित दिवाकर स्मृतिमाविको कक्षा सातमा अध्ययनरत आयुसा लामिछानेले पनि गोरखा भ्रमणले इतिहासको बारेमा बुझ्न धेरै मद्दत पुगेको बताइन् ।
गोरखा आउने बिद्यार्थीले बिशेष गरी गोरखा दरवार रसंग्रहालय घुम्ने गरेका छन् । गत आव २०७९÷८० मा ४३ हजार ५७० जना विद्यार्थीले गोरखा संग्रहालयको अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरु, शाह वंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन्न जातिको भेषभुषा लगायत कुराहरु संग्रहालयभित्र राखिएका छन् ।
संग्रहालयमा शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुको संख्या हरेक दिन पाँचदेखि एक हजारसम्म हुने गरेको गोरखा संग्रहालयले जनाएको छ । संग्रहालयका अनुसार प्रत्येक दिन सरदर १० विद्यालयका करिव एकहजार बिद्यार्थीले संग्रहालयको अवलोकन गर्ने गरेका छन् ।