| बिहिबार, मंसिर २०, २०८१

फेन्सी व्यवसायी संघको तिकडम : पैसा बार्गेनिङका लागि मेलाको बिरोध

साढे दुई लाख पाएपछि चुपचाप :

पैसा बार्गेनिङको लागी मेला महोत्सवको बिरोध गर्ने कपडा तथा फेन्सी व्यवसायी संघ गोरखाले बृहत लोकदोहोरी महोत्सवबाट साढे दुई लाख रकम लिएको खुलासा भएको छ ।

महोत्सव आयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गोरखासँग संघले उक्त रकम लिएको खुल्न आएको हो । रकम दिएको कुरा प्रतिष्ठानले पनि स्वीकार गरेको छ ।

गत असोज २४ गतेबाट हरमटारी खेलमैदानमा बृहत लोकदोहोरी महोत्सव हुने भन्ने कुराको सुइको पाए लगतै संघले महोत्सवको बिरोध गर्दै पैसाको बार्गेनिङ शुरु गरेको थियो । व्यवसायीको हकहितका लागी भन्दै महोत्सवको बिरोध गरेको बताउने संघ अन्ततः पैसाको लेनदेन मिलेपछि मौन बस्यो ।

‘पहिले सात लाख रुपैया चाहिन्छ भने,’ राष्टिूय लोक तथा दोहोरी प्रतिष्ठान गोरखाका एक प्रतिनिधी भन्छन्, ‘बार्गेनिङ गर्दै जादाँ पछि दुई लाख पचास हजारमा माने ।’ उक्त रकम असोज २७ गते साँझ फेन्सी व्यवसायी संघका अध्यक्ष सुवास मल्ललाई होटल भिजनमा भेटेर बुझाएको उनी बताउछन् ।

उनी भन्छन्, ‘अघिल्लो दिन चेक दिएका थियौ, क्यास नै चाहिन्छ भनेपछि भोलीपल्ट रकम बुझाएका हौ ।’ पैसा बार्गेनिङका लागी मेला÷महोत्सवको बिरोध गर्दै आएको भन्दै संघको चौतर्फी आलोचना हुन थालेको छ । सामाजिक सञ्जाल मार्फत संघ बिरुद्ध नकरात्मक टिप्पणीहरु समेत आउन थालेका छन् । रकम लिएको कुरा संघले जानकारी नगराएको अधिकांश पदाधिकारीको गुनासो छ ।

‘पैसा लिएको भन्ने कुरा बजार हल्ला सुनियो तर संघका जिम्मेवार व्यक्तिहरुले अहिलेसम्म हामीलाई केही भन्नु भएको छैन,’ संघकी सहसचिव सिर्जना कोइराला भट्टले भनिन् । बैठक बसेर यसबारे प्रष्ट पार्न माग गरिने उनले जानकारी दिइन् । यता संघका कोषाध्यक्ष अजिज मियाले पनि पैसा लिएको कुरा संघबाट नभई बजार हल्लाबाट थाहा पाएको भन्दै गुनासो गरे । ‘संघका अध्यक्ष उपाध्यक्षले केही भन्नुभएन, बजारमा हल्ला भएपछि मात्र थाहा पाए, उहाहरुसँग सोध्दा हल्ला मात्र हो भनेर टार्नुभयो,’ उनले भने ।

पैसा लिएको कुराले संघको बजारमा बदनाम भएको भन्दै सदस्यहरुले आपत्ति समेत जनाएका छन् । यता संघका अध्यक्ष सुवास मल्ल भने पैसा नलिएको दावी गर्छन् । ‘हामीले पैसा लिएका छैनौ, छिटै कार्यसमिति बैठक बसेर यसबारे सबैलाई प्रष्ट पार्छौ,’ उनले भने । पैसा लेनदेनको बिषयबारे प्रष्ट पार्न संघलाई भनिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘हामीले व्यवसायीलाई मर्का पर्छ भनेर वार्ता गराएका हौ लेनदेन गर्न भनेर होइन,’ उनले भने, ‘मेला महोत्सवमा विवाद गर्ने अनि आर्थिक लेनदेन मिलाउने राम्रो होइन, यसले नराम्रो संस्कारको बिकास गर्छ ।’ चाडवाडको समयमा मेला महोत्सव गर्दा व्यवसायी मर्कामा पर्ने भन्दै कपडा तथा फेन्सी व्यवसायी संघ गोरखाले बृहत लोकदोहोरी महोत्सवको बिरोध गर्दै आएको थियो ।

गोरखा नगरपालिका मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका सरोकारवालाको उपस्थितीमा विवाद समाधानका लागी दुई पक्षबीच पटक पटक छलफल समेत भएको थियो ।

अन्ततः आर्थिक लेनदेन मिलेपछि संघ चुप लागेको हो । तर रकम लिएको बारे आफूहरुलाई जानकारी नगराएको भन्दै संघका अधिकांश पदाधिकारी एवं सदस्यहरु रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्