
जाजरकोटका भूकम्प पीडितलाई जेष्ठ नागरिक संघको सहयोग अभियान
जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पिडितलाई राहत सहयोग संकलन अभियान सुरु गरेको छ । सोमबार संघले हरमटारीको जिबिसचोकबाट पेट्रोल पम्पसम्म घरदैलो अभियान सुरु गरेको संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले बताए ।
भूकम्प पिडितका लागि राहत स्वरुप घरदैलो अभियान सुरु गरिएको र अभियानमा सबैले स्वेच्छाले रकम दिएको उनले बताए । अभियान अन्तरगत आज मंगलबार बजार क्षेत्रको विभिन्न स्थानमा अभियान संचालन हुने र जम्मा भएको रकम भूकम्प पीडितको राहत कोषमा जम्मा हुने गरी जिल्ला प्रशासन कार्यालय गोरखामा बुझाइने उनले बताए ।
उनकाअनुसार हालसम्म जेष्ठ नागरिक संघका पदाधिकारीहरुबाट ७५ हजार र पृथ्वीनारायण साना सहरी खानेपानीबाट ५१ हजार १ सय ११ रुपैया जम्मा भइसकेको छ । यसमा दुई दिने अभियानबाट संकलन भएको रकम सबै गरेर राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले एकसय ५७ जना भन्दा बढीको मृत्यु भएको थियो भने अर्बौँको धनमाल क्षति पुगेको थियो ।