| बुधबार, अशोज २३, २०८१

‘जब मध्यरात हुन्छ तब सल्बलाउछन् बाइक चोर्ने गिरोह’

केशव गुरुङ :

पछिल्लो समय जिल्ला सदरमुकाम आसपासबाटै मोटरसाइकल चोरी हुने क्रम बढ्न थालेको छ । साउन महिना यता मात्र नौ वटा मोटरसाइकल चोरी भएको भन्दै निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार अधिकांश चोरी रातको १२ बजेपछि भएको देखिन्छ । गत आइतवार गोरखा नगरपालिका–१३ अँवुवामा घरमै पार्किङ गरेर राखेको बा ०२–०१९ प ४५३० नम्वरको मोटरसाइकल रातको समयमै चोरी भएको थियो । त्यस्तै कात्तिक १५ गते गण्डकी गाउँपालिका–७ ज्यामिरघाटबाट बाग्मती प्रदेश ०२–०१६ प ०४४८ नम्वरको यामाहा कम्पनीको मोटरसाइकल पनि रातको दशबजेपछि चोरी भएको प्रहरीले जनाएको छ ।

असोज १२ गते गोरखा नगरपालिका(९ कट्टेलचोकमा घरको आँगनमा पार्किङ गरेर राखेको लु ८७ प ९५७४ नम्वरको २२० सिसि पल्सर मोटरसाइलक पनि चोरी भएको थियो । रातको अन्दाजी २ बजे उक्त बाइक चोरी भएको प्रहरीले जनाएको छ ।
त्यस्तै असोज ९ गते गोरखा नगरपालिका–६ ढाँडगाउँबाट हराएको बा ५७ प ८४३ नम्वरको २२० सिसि पल्सर मोटरसाइकल रातको अन्दाजी ३ बजे र भदौ ३० गते धार्चे गाउँपालिका–६ काशिगाउँबाट हराएको बा ५५ प ५७८७ नम्वरको २२० सिसि पल्सर मोटरसाइकल रातको करिब साढे बाह्र बजे चोरी भएको बताइएको छ ।

यता असोज ४ गते गोरखा नगरपालिका–८ आयुर्वेदिकचोकस्थित न्यू गण्डकी होटल अगाडिबाट हराएको ग १० प ३४४० नम्वरको होण्डा साइन बाइक पनि रातकै समयमा चोरी भएको प्रहरीले जनाएको छ । भदौ ३० गते गोरखा नगरपालिका–१० बिरेन्चोकबाट ग १७ प ८५८८ नम्वरको यामाहा कम्पनीको आरवान फाइभ बाइक पनि रातको ३ बजे चोरी भएको थियो ।
त्यस्तै भदौ २ गते गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोबाट हराएको बा प्र ०२ ०४० प ४३६२ नम्वरको एनएस बाइक र २६ गते गोनपा–८ बराहबाट हराएको ग १९ प ७७७० नम्वरको अपाची बाइक पनि रातकै समयमा चोरी भएको प्रहरीले जनाएको छ । यी सबै चोरीका घटनालाई मध्यनजर गर्दा अधिकांश घटना रातको बाह्र बजेपछि भएको देखिन्छ ।

रातको समयमा बाइक चोरी गर्ने गिरोह सक्रिय हुने गरेको प्रहरीले जनाएको छ । चोरी भएका यी कुनै पनि बाइक अहिलेसम्म फेला परेका छैनन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘हामीले रातको समयमा गस्ती बढाएका छौँ, सिभिलमा प्रहरी समेत परिचालन गरेका छौँ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने ।

बाइक सुरक्षाका लागि प्रहरीको मात्र मुख नताकी बाइकधनी स्वयं पनि सचेत हुनुपर्ने देखिएको छ । रातको समयमा जथाभावी नभई सुरक्षित स्थानमा मात्र पार्किङ गर्न डिएसपी श्रेष्ठले बाइकधनीहरुलाई आग्रह गरेका छन् । ‘यसमा बाइक धनीहरु पनि सचेत हुनुपर्छ । जथाभावी बाइक पार्किङ गर्दा पनि चोरी गर्ने गिरोह सक्रिय भएको हो,’ उनले भने ।

केहीदिन यता प्रहरीले चोरीका तीन वटा मोटरसाइकल फेला पारेको छ । बिभिन्न स्थानबाट ती मोटरसाइकलहरु फेला पारेर ल्याइएको डिएसपी श्रेष्ठले बताए । सिरानचोक गाउँपालिका(४ छोप्राक र जिल्ला सदरमुकामको हरमटारी खेलमैदान नजिकै रहेको कभर्ड हल आसपासबाट २२० सिसि पल्सर बाइक एक÷एक थान र गोरखा नगरपालिकाको बराहबाट होण्डा कम्पनीको बाइक फेला पारेर कार्यालयमा ल्याइएको उनले जानकारी दिए । ‘यी अन्यत्रबाट चोरी भएका बाइक हुन्, चालु आर्थिक बर्ष हराएका नौ वटा बाइक भने फेला परेका छैनन्, हामीले खोजी कार्यलाई तिव्र बनाएका छौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्