| शनिबार, जेष्ठ ५, २०८१

खाना बनाउन सिक्दै दृष्टिविहिन बिद्यार्थी(फोटो फिचर)

केशव गुरुङ :

शहिदलखन गाउँपालिका–६ घैरुङकी लक्ष्मी श्रेष्ठलाई आफ्नै हातले मिठो खाना बनाएर परिबारलाई खुवाउने ठूलो रहर थियो । तर आँखाले साथ नदिँदा उनी रहर मनभित्रै खुम्च्याएर बस्न बाध्य थिइन् ।

सरस्वती मावि आलेको कक्षा १० मा पढ्ने श्रेष्ठलाई राम्ररी देख्न नसक्ने हुँदा उनलाई ग्याँस चुल्हो ह्वार्र बल्दा निकै डर लाग्थ्यो । धारिलो चक्कु छुन, समात्न पनि डर लाग्थ्यो ।

तर उनी अहिले स्वादिलो खाना बनाउन सक्ने भएकी छन् । उनको यो सपना साकार पार्न साथ थिएको छ, प्रयत्न नेपालले । सो संस्थाले खाना बनाउने पाँचदिने तालिम लिएपछि उनी अहिले आफै खाना बनाउन सक्षम भएकी हुन् ।

‘यस अघि ग्यास चुल्हो बाल्न मात्र होइन चक्कु पनि छुन डर लाग्थ्यो,’ उनी भन्छिन्, ‘अहिले निर्धक्क भएर ग्याँस चुल्हो बाल्न, तरकारी काट्न र खाना बनाउन मज्जाले सक्छु ।’ तालिममा खाना पकाउँदा चामलमा पानी अड्कल्ने, दाल पकाउने लगायतका कुराहरु सिकेको उनले जानकारी दिइन् ।

यसअघि खाना बनाउने सिप नभएकी गोरखा नगरपालिका–२ कोखे आहालेकी १८ वर्षीय मोनिका राना मगर पनि अहिले खाना बनाउन जान्ने भएकी छन् । दालभात र तरकारी आफै बनाउन सक्ने भएपछि उनी खुशीले गद्गद् भएकी छिन् । प्रयत्न नेपालको आयोजना तथा नेत्रहिन संघ गोरखाको समन्वयमा आयोजित पाँच दिने तालिममा सहभागी भएपछि उनीहरु सहित दश जना दृष्टिविहिन बालबालिकाहरु अहिले खाफै खाना बनाउन सक्ने भएका हुन् ।

‘वकालत, नेतृत्व विकासका तालिम धेरै भइरहेको छ, अधिकारका कुराहरु पनि धेरै सिकायौ तर बाँच्नै नसिकाए त अधिकारको कुरा गरेर मात्रै अर्थ भएन, त्यसैले हामीले दृष्टिविहिनहरु पनि आफै आत्मनिर्भर हुन सक्नुपर्छ भनेर यो खाना बनाउने सम्बन्धी आधारभूत तालिम दिएका हाँै,’ प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछानेले भनिन् ।

यस प्रकारको तालिम गोरखामा पहिलो पटक आयोजना गरिएको उनको भनाइ छ । ‘दृष्टि भएको मान्छेहरु घरमा आमाबाबाले गरेको देखेर पनि सिक्छन्, तर नदेख्नेले त्यस्तो कुराहरु सिकेको हुदैन, त्यसैले उनीहरुलाई खाना बनाउने लगायतका कुराहरु गर्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘घरमा हुदा कुनै काम सिकेको हुदैन तर प्लस टु मास्टर पढ्न जब बाहिर जान्छन् तब खाना बनाउने, लुगा धुने सबै आफैले गर्नुपर्ने हुन्छ ।’

यस्तो अवस्थामा दृष्टिबिहिन भएका व्यक्तिहरुलाई समस्या हुने गरेकाले पनि यस्तो तालिम संचालन गरिउको उनले बताइन् । तालिम अवधिभर भात पकाउन, तरकारी र दालमा नुन अड्कल्न, तेल तातेको थाहा पाउनका लागि गन्ध, स्वाद, स्पर्श र आवाजको प्रयोग गर्न सिकाइएको उनले जानकारी दिइन् । त्यस्तै दृष्टिविहिनहरुले सरसफाइ गर्न सक्दैन भन्ने आम धारणालाई परिवर्तन गर्न कुच्चो समाइ घरको सरसफाइ गर्न, भाडा माझ्न, पोछा लगाउन पनि सिकाइएको उनले बताइन् ।

नेत्रहिन संघ गोरखाका अध्यक्ष गीतामाया श्रेष्ठले सुरुमा तालिम दिन अत्यन्तै गाह्रो भएको बताइन् । ‘सुरुमा उनीहरुलाई कुकर खोल्न, ग्याँस चुल्हो बाल्न र चक्कु समाउन पनि आउदैनथ्यो,’ उनले भनिन, ‘हामीले जिरो लेबरबाट सिकायौँ । पाँच दिनमा उनीहरु आफै खाना बनाउन सक्ने भए ।’

पाँच दिनको तालिम पश्चात उनीहरु चिया, अचार, चटपट, अम्लेट, दालभात तरकारी आफैले बनाउन सक्ने भएको उनले बताइन् । तालिमको मंगलवार एक कार्यक्रमका बीच समापन गरिएको उनले जानकारी दिइन् । उनीहरुकै आवश्यकता र माग अनुसार तालिम दिइएको प्रयत्न नेपालकी अध्यक्ष लामिछानेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्