![](https://www.daraundi.com/wp-content/uploads/2023/11/403862425_318426364391710_6219657571580513592_n.jpg)
कर्णालीका भूकम्प पिडितलाई ज्येष्ठ नागरिक जिल्ला संघले पठायो दुई लाख २१ हजार
कर्णालीका भूकम्प पिडितका लागि ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाले संकलन गरेको रकम त्यसतर्फ पठाइएको छ । जिल्ला संघले केही दिनअघि अभियानमार्फत संकलन गरेको दुईलाख २१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरी सो भौचर संघले मंगलबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई हस्तान्तरण गरेका हुन् ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गई विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई सो भौचर हस्तान्तरण गरेका हुन् ।
कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितको उद्धार र राहतका लागि संघले राहत संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानबाट संकलन भएको दुई लाख २१ हजार ७११ रुपैया प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरी सो भौचर प्रजिअलाई हस्तान्तरण गरिएको हो ।
संकलित रकममध्ये जेष्ठ नागरिक जिल्ला संघका १३ जना पदाधिकारीबाट ७० हजार, पृथ्वीनारायण साना सहरी खानेपानी संस्थाबाट ५१ हजार १११, तीनधारे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट ५ हजार र संघले गोरखा सदरमुकाममा संचालन गरेको दुइ दिने स्वेच्छा सहयोगबाट ९५ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो ।
गत कार्तिक १७ गते शुक्रबार राती गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा ठूलो जनधनका क्षति पुगेको थियो ।
०७२ सालको गोरखा भूकम्पले पिडित बनेका गोरखाबासीलाई विभिन्न नियकाबाट धेरै राहत सामग्री प्राप्त भएको बताउदै अहिले कर्णालीबासीलाई आर्थिक साहायतको खाँचो रहेकाले राहत स्वरुप संकलन गरिएको नगद हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले भौचर बुझदै यसबाट भूकम्प पिडित कर्णालीबासीलाई धेरै राहत मिल्ने बताए ।