साढे ५५ अर्ब लगानीमा ३४१ मेगावाटको बुढीगण्डकी निर्माण हुँदै
टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर १ र ३ र चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ मा प्रस्ताव गरिएको आयोजना निर्माण प्रक्रिया अघि बढाएको हो ।
आयोजनाको निर्माण सम्पन्न गर्न ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।
यो आयोजना पिकिङ रन अफ रिभर प्रकारको हो । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।
वगकतषथसूश्रयो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५।८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ ।
टनेलमार्फत पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युत्गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टवाईन जडान हुनेछ । सो टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।
आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७।१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६।२२ हेक्टर जमिन चाहिने प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९।६२ हेक्टर स्थायी रूपमा र ६।६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।