थप भएको म्याद पनि सकियो तर काम सकिएन, काम नहुने तर क्रसर चलिरहने भन्दै बिरोध
ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेका जिल्लाको योजनाहरुमध्ये राधाकृष्ण मन्दिर कालामाटा, पौवाटार, विरुवाटार, मिलनचोक, मझुवा सडक पनि एक हो । दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको काम चारबर्षमा पनि सम्पन्न भएको छैन । हेटौँडाको अमर कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको उक्त सडकको हालसम्म ५६ प्रतिशत मात्र भौतिक प्रगति रहेको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।
१० किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय र उक्त निर्माण कम्पनी बीच २०७६ साल असार १६ गते सम्झौता भएको थियो । सम्झौता अनुसार दुई बर्षमा काम सक्नुपर्ने थियो । तर निर्माण व्यवसायीको लापरवाहीले योजना अलपत्र भएपछि २१ महिनाको म्याद थप भयो । थप भएको म्यादको समयसीमा २०७९ साल चैत्र ३० गते सकिसकेको छ । तर कामको प्रगति नभएपछि अहिले योजना अलपत्र छ । पुनः म्याद थप गरिदिन भन्दै निर्माण व्यवसायीले कार्यालयमा निवेदन समेत पेश गरेको छ ।
निर्माण व्यवसायीकै लापरवाहीका कारण उक्त योजना समस्याग्रस्त बनेको कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले बताए । उनका अनुसार उक्त योजनाको हालसम्म टेवा पर्खाल लगाउने, नाली ढलान तथा ४ किलोमिटर सडक ग्राभेल गरेर वेश भर्ने काम मात्र भएको छ । २३ करोड ३८ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।
निर्माण व्यवसायी शिव चौलागाईले कोभिडको बहाना बनाउँदै योजनाको काम समयमै सम्पन्न गर्न समस्या भएको बताए । ‘कामको मुख्य सिजन हाम्रो जेठको अन्तिमबाट हो तर त्यही बेला कोरोनाले दुई बर्ष खाइदियो, पछि डिजेलको मूल्य बढ्यो घट्छ भनेर केही समय कु¥यौ तर घटेन, बल्ल बल्ल मान्छे जुटाएर काम शुरु गरेका थियौ तर पैसाले समस्या बनायो,’ उनले भने ।
सम्पन्न भएको कामको करिव डेढ करोड रकम भुक्तानी हुन बाँकी भएको भन्दै उनले रकम नआएकै कारण काम गर्न समस्या भएको जानकारी दिए । तीन चार दिनमा काम शुरु गर्ने र बैशाख मसान्तसम्म सम्पन्न गर्ने उनले आश्वासन दिए ।
काम नभएपनि योजनाका लागि भन्दै संचालन भएको क्रसर भने नियमित चलिरहेको भन्दै बिरोध हुन थालेको छ । सोमवार जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले काम नगर्ने तर क्रसर भने नियमित संचालन गरेर निर्माण सामग्री बेच्ने गरेको बताएका थिए । यता निर्माण व्यवसायी चौलागाईले भने नजिकैका केही योजनामा आवश्यक परेकाले निर्माण सामग्री उपलब्ध गराएको बताए । अव छिट्टै क्रसर पनि बन्द गरिने उनले आश्वासन दिए ।