| मङ्लबार, बैशाख ४, २०८१

गोरखाका नेवार जाति र मकै सुकाउने पर्व

यदु प्रसाद अधिकारी

नेपाल विविध जाति, धर्म, संस्कृति भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वर्ग सदृस रमणीय मुलुक हो । यस देशमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म एक सय ४० जातजाति र एक सय २४(एक सय ३१) भाषाभाषीहरुले बसोबास गरेका छन् । स्वर्ग सदृस रमणीय मुलुकमा बसोबास गर्ने नेपालीहरु शूूरवीर पराक्रमी भएर पनि दयालु पनि छन् । नेपालका सात प्रदेश ७७ जिल्ला सात सय ५३ स्थानीय तहमा बसोबास गर्ने नेपालीहरु एक आपसमा सौहार्द्रपूर्ण वातावरणमा बसी आफनो धर्म, संस्कृतिलाई अपनाइ आत्मा सन्तृष्टि लिएर जिविका चलाइरहेका छन् ।

नेपालको गण्डकी प्रदेशमा ११ वटा जिल्ला र ८५ वटा स्थानीय तहहरु छन् । ती ११ वटा जिल्ला मध्ये गोरखा जिल्ला एक अग्रपङ्तिमा रहेको अनुकरणीय प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक र धार्मिक सौन्दर्यले भरिपूण जिल्ला हो । तराइको समथर भूमि चिवत, धादिङ, तनहुँ, लमजुङ उत्तरमा तिब्बत र रसुवा(गणेशकण्ड) सँग यस जिल्लाको सिमाना जोडिएको छ । ३० वटा जातजाति र २७ वटा भाषाभाषीका जनसमुदायले बसोबास गरेका यस जिल्लामा सबैले आ–आफनो परम्परागतका धार्मिक र साँस्कृतिक रितीरिवाजलाई अपनाइरहेका छन् । ११ वटा स्थानीय तह रहेको यस जिल्लामा हिन्दु, बुद्ध, इस्लामिक, क्रिश्चियन, बोन धर्मको समेत प्रभाव देखिन्छ ।

उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिकाको छेकम्पार र श्रृगी क्षेत्र अहिसांत्मक रुपमा सुपरिचित छ । त्यहाँ परम्परागत तिब्बतियन भाषाबाट विकसित भएको हालको चुम र नुब्री भाषा बोल्ने बासिन्दाले बसोबास गरेका छन् । गोरखाको भच्चेक, सौरपानी, आरुपोखरी, मान्बु देखि माथि गुरुङ, तामाङ र नेपाली भाषा बोल्ने मानिसहरुले बसोबास गरेका छन् ।

त्यो क्षेत्र भन्दा तल ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङका साथै विविध कला, संस्कृति र बन्द व्यापारमा निपूर्ण भएका नेवार जातिहरुले बसोबास गरेका छन् । राजा रामशाहले व्यापार गर्नको लागि ल्याएका चौबीस कोठी नेवारहरुमा जोशी र श्रेष्ठ सुपरिचित छन् । गोरखामा काठमाडौ,पाटन, भत्तपुरबाट आएका यी जातिले आ–आफनो भाषा, जातीय संस्कार र संस्कृतिलाई सदैब उच्च बनाएका छन् । जोशी, पुरहित र श्रेष्ठ पुजारीको रुपमा चर्चित यिनीहरुले श्रीकृष्णको रथ तानी गाईजात्रा, हिलेजात्रा, दशैतिहार, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व मानि आफुलाई उच्च बनाएका छन् । हिजोका पुर्खाहरुले नेवार बिग्रियो भोजले मतुवाली बिग्रियो मोजले भन्ने उखान चलाए पनि आज त्यो उखान उल्टा भएको छ ।

नेवार आदिवासी उच्च बनेका छन् । आफनो संस्कृतिलाई उच्च बनाएका छन् । यि गोरखाका नेवारहरुले आफ्ना विविध चाडपर्व मनाएका छन् । त्यस्ता चाडपर्वहरु लाखे नाँच, श्रीकृष्ण जन्माष्टमी, गाईजात्रा, जनै पूर्णिमाको भोलि पल्ट रोपाइ जात्रा, हिले जात्रा, मंगल चौथी, मह पुजा लगायत टाकटुके नाँच, भजन, हरिबोधनी एकादशीदेखि पूर्णिमा सम्म गाएर मनाउछन् । (पूर्ण प्रसाद श्रेष्ठ)

मकै सुकाउने पर्व

गोरखामा बसोबास गर्ने नेवारहरु मध्ये गोरखा नगरपालिका गोरखा बजार, पोखरीथोकमा विशेष किसिमले बसोबास गर्ने नेवार जातिहरुले आफ्ना पुर्खाले काठमाडौ, भक्तपुर र ललितपुरबाट भित्र्एका पर्वहरु मध्ये मकै सुकाउने पर्वलाई उच्च महत्व दिएका छन् । पचास वर्ष अगाडि सम्म मनाउदै आएको यो पर्वलाई हाल आएर ऐतिहासिक क्षेत्र संरक्षण समितिले विशेष महत्व दिएर मनाएको कुरो यसका अध्यक्ष सुरेशमान श्रेष्ठले बताएका छन् ।

कात्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाइएको हो भनी सानुकाजी, मोहनलाल र धिरज बहादुर श्रेष्ठले बताएका छन् ।

कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता नेवार जातिमा रहेको देखिन्छ ।
सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्नहरु प्रसादको रुपमा प्रयोग गरेमा सहकाल आई अन्न भकारीमा फारु हुन्छ भन्ने विश्वास गरेका छन् ।

अन्नहरुमा भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्डका साथै बिभिन्न किसिमका फलफुल पनि मान्द्रोमासँगै राखेर पुजा गरेको ठूलो आँगनको पृथ्वीनारायण शाहको शालिक वरपर जुनमा सुकाएको देखियो ।
यी सुकाएका खानेकुरा र फलफूलहरु प्रसादको रुपमा ग्रहण गरी घरघरमा लैजाने र भकारीमा मिसााउने चलन पनि यो जातिमा रहेको देखिन्छ । यसरी मिसाएको अन्न अमृत समान हुन्छ भन्ने विश्वास र मान्यता राखिएको पाइयो ।

मकै सुकाउनका लागि इच्छुक व्यक्तिहरुले सबैले घरघरबाट ठूलो आँगनमा ल्याउने गर्दछन् । कतिपयले भने आफनो घरमा नै मान्द्रोमा जुनमा मकै सुकाउने गर्दछन् । यो पर्वमा अनिवार्य रुपमा मकै ल्याउनुपर्ने मान्यता देखिन्दैन । तैपनि सामुहिक रुपमा सुकाउँदासँगै प्रसादको रुपमा खाँदा आनन्द र खुशियाली हुन्छ ।

लामो समयपछि २०७६ सालबाट पुर्खाको मनाएको पर्वलाई जीवित बनाई यो पर्व ठूलो आँगनमा सुरु गरेको देखिन्छ । २०७७ मा भने कोरोनाको कारणबाट देशका सबैगतिविधि ठप्प भएका कारणले गर्दा यो मकै सुकाउने पर्व पनि यहाँका नेवार जातिले मनाउन सकेनन्। हाल २०७८ पनि लगातार तीन वर्ष सम्म यो पर्व मनाइरहेका छौ भनी ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले बताएका छन् ।

यो पर्व मनाउदा बाजागाँजा सहित परम्परागत संस्कृतिलाई झल्कने किसिमबाट शुभारम्भ गरेको देखिएको थियो । यो पर्वले गोरखा बजारको नेवारको मात्र नभई सबै जातजातिको संस्कृतिलाई नेतृत्व गरेको आभाष हुन्छ । यो पर्वलाई स्थानीय तहले संरक्षण गरेर लिपिबद्ध गरेर प्रचार गर्न सकेमा टाढाटाढाबाट पनियहाँ धार्मिक पर्यटकहरु आउन सक्छन् । त्यसको लागि सबैले कदम अगाडि चाल्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्