| शुक्रबार, माघ ४, २०८१

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजककै पोल्टामा

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । शनिवार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो । उपाधी बिजेता हरमटारीले रनिङ कपको साथमा ३ लाख ३३ हजार ३३३ रुपैया नगद पुरस्कार पाएको छ । उपाधी उपबिजेता बनेको चाइनिजधारा क्लबले भने १ लाख ६६ हजार ६६६ रुपैया नगद पुरस्कार पाएको आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरुलाई पनि पुरस्कृत गरिएको छ । अल स्टार एफसी आँवुखैरेनीका यम्मी फाकुल्मे र चाइनिजधारा फेमेली क्लबका बिक्की चामलिङलाई जनही पाँच हजार नगद पुरस्कार दिइएको बताइएको छ । प्रतियोगिता अवधीभर उनीहरुले ५/५ गोल गरेका थिए ।

हरमटारी क्लबका आकाश राना उत्कृष्ट गोलरक्षक, बिजयसिंह ठकुरी उत्कृष्ट डिफेन्डर र चाइनिजधारा क्लबका अजित लामा उत्कृष्ट मिड फिल्डर घोषित भएका छन् । उनीहरुले जनही दश हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा हरमटारी क्लबका नरेन्द्र चौधरी सर्वाेकृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कारको साथमा ट्रफी पाएका छन् ।

न्यू दौतरी युवा क्लब चित्रेपोखरी सिरानचोकले अनुशासित टिम घोषित भएको छ । उक्त टिमले नगद ३५ हजार पुरस्कार पाएको छ । प्रतियोगिताका बिजेताहरुलाई शनिवार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । यही फागुन ६ गतेबाट हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्