| सोमवार, बैशाख ३, २०८१

मुक्ति बालआश्रमको जग्गाको खोजबिन गरौँ

अहिले भूमाफियाहरुले बेचबिखन गरेको बालुवाटार(ललिता निवास) जग्गा हिनामिना प्रकरण, गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरण, मातातीर्थको जग्गा प्रकरण, नेपालगञ्ज, रुपन्देहीको जग्गा कब्जा प्रकरण लगायतका धेरै ठाउँको जग्गाको खोजबिन भइरहेको छ ।

यही प्रसंग चलिरहँदा गोरखा नगरपालिका १० छेपेटारस्थित एक बालआश्रमको जग्गा पनि एक दम्पतिले बेचेर रकम असुल गरेको आरोप पनि अहिले चर्चामा रहेको छ । गत २०५१ साल भदौमा ‘मुक्ति बालआश्रम’ सञ्चालन गर्न भनेर सिरानचोक ५ छोप्राकका कृष्ण घिमिरे र बिमला घिमिरे दम्पतिले १३ रोपनी जग्गा खरिद गरेको थिए । वैदेशिक कृश्चियन संस्थाको सहयोगमा उनीहरुले जग्गा खरिद गरेर बिमला घिमिरेको नाममा दर्ता गरेका थिए ।

मुक्ति बालआश्रममा रहेकी एक बालिकामाथि बलात्कार गरेको आरोपमा कृष्ण घिमिरेमाथि मुद्दा दर्ता भयो । मुद्दा जिल्ला, पुनरावेदन, सर्वोच्चसम्म पुग्यो । पीडित पक्षबाट मुद्दामा धाएका पूर्व वडाअध्यक्ष देवी बस्नेतका अनुसार बयान फेरेर मुद्दा घिमिरेले जितेका थिए । तर मुद्दा मामिलापछि दातृसंस्थाले यहाँको बालआश्रम बन्द ग¥यो ।

तर बालआश्रमको जग्गा तिनै घिमिरे दम्पतीले बेच्न थाले । सार्वजनिक सम्पतिको जग्गा धमाधम व्यक्तिले बेच्दा पनि त्यतिबेला कसैले पनि बिरोध, प्रतिरोध गर्न सकेनन् । घिमिरे दम्पतिले आफन्तको प्रयोग गरी नौ रोपनी जग्गा बिक्री गरे । अहिले अलिकति जग्गा र एउटा संरचना बचेको छ । त्यसको निहुँमा अहिले पनि मेरो, मेरो भन्नेहरुले लुछाचुँडी गरिरहेका छन् ।

अहिले देशका विभिन्न सार्वजनिक सम्पति बचाउ अभियान सञ्चालित छन् । सरकारी निकायले पनि यसप्रति ध्यानाकर्षण गर्नुपर्छ । जिल्लामा अख्तियारको निकाय जिल्ला प्रशासन कार्यालय रहेको छ । उसले पनि यस प्रकरणप्रति ध्यानाकर्षण गर्नु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्