| सोमवार, बैशाख ३, २०८१

अनेरास्ववियूद्वारा जेब्राक्रस निर्माण अभियान सुरु

विद्यार्थीहरुलाई सुरक्षित पैदल यात्रा गर्ने वातावरण बनाउने उद्देश्यले अनेरास्ववियूले जेब्राक्रस निर्माण अभियान सुरु गरेको छ । सडक पार गरेर विद्यालय जानु पर्ने विभिन्न ठाउँमा जेब्राक्रस निर्माण गर्ने उद्देश्यले बुधबारबाट सो अभियान सुरु गरेको संगठनका गोरखा कमिटीका पूर्व अध्यक्ष एवं प्रदेश कमिटिका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन बुधबार गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा दुई ठाउँमा जेब्राक्रस निर्माण गरेको श्रेष्ठले बताए । ‘जहाँजहाँ विद्यार्थीहरु सडक पार गरेर विद्यालय वा क्याम्पस जानुपर्दछ, त्यहाँ त्यहाँ जेब्राक्रस निर्माण गर्ने हाम्रो कार्यक्रम हो’, उनले भने, ‘पहिलो दिन महालक्ष्मी मावि जाने दुई ठाउँमा निर्माण गरेका छौँ । अब क्रमशः आवश्यकता पर्ने अरु ठाउँमा पनि निर्माण गर्नेछौँ ।’

गोरखा आँबुखैरेनी सडकमा पर्ने १० भन्दा धेरै ठाउँमा जेब्राक्रस निर्माण गर्ने उनले बताए ।जुन विद्यालयको आसपास जेब्राक्रस निर्माण गरिन्छ, त्यही विद्यालयको अनेरास्ववियू संवद्ध विद्यार्थीको साथ र सहयोगमा जेब्राक्रस निर्माण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्