
कामुको जिम्मेवारी नदिदाँ इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा ठप्प
इलाका प्रशासन कार्यालय सिर्दिवासको सेवा विगत एक सातादेखि ठप्प जस्तै छ । त्यहाँ कार्यबाहक शाखा अधिकृतका रुपमा कार्यरत नायब सुब्बा रामप्रसाद शर्माको कार्यबाहक जिम्मेवारी नवीकरण नभएपछि सेवा प्रभावित भएको हो । यसअघि ६/६ महिनामा नवीकरण हुदै आएको उनको कार्यबाहक पद अहिले गृह मन्त्रालयले नवीकरण नगरेको हो ।
धार्चे गाउँपालिकाको वडा नम्वर १, २, ३ र चुमनुव्री गाउँपालिकाका सातै वडाका स्थानीयलाई नागरिकता, सिमा पास, नावालक परिचयपत्र वितरण र जातियसँगै अन्य प्रमाणित सोही कार्यालयबाट हुने गथ्र्याे । तर अहिले यी सबै सेवाका लागि सो क्षेत्रका स्थानीयलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
मन्त्रालयले शर्मालाई दिएको कार्यबाहकको जिम्मेवारी यही फागुन १२ गतेबाट समाप्त भएको थियो । त्यसयता जिम्मेवारी थप भएर नआएका कारण कार्यालयको सेवा प्रभावित बनेको शर्माले बताए । ‘६/६ महिनामा म्याद थप हुने गरी २०७७ साल पुष १६ गतेबाट मैले कामु शाखा अधिकृतको जिम्मेवारी पाउँदै आएको थिए, अन्तिम पटकको म्याद यही फागुन १२ गते सकियो,’ उनले भने, ‘यसअघि म्याद सकिएको एक दिनमै गृह मन्त्रालयबाट थप गरिएको पत्र आउथ्यो तर यसपटक एक सातासम्म पनि केही जानकारी आएको छैन ।’ मन्त्रालयको पत्रको पर्खाइमा रहेको बताउँदै उनले थपे, ‘पत्र आयो भने माथि जाउँला अनि सेवा दिउला भनेर कुरिराखेको छु तर पत्र आएको छैन ।’
पत्र नआएपनि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउन बाध्य भएका माथिल्लो क्षेत्रका स्थानीयलाई आवश्यक सहयोग र सहजिकरण गरिहेको उनले जानकारी दिए । ‘नागरिकता वा प्रतिलिपि बनाउन आउनेहरुलाई माथि कार्यालयमा भएको ढड्डाको फोटो हेरेर यहाँ प्रशासन कार्यालयमा पनि सहजिकरण गरिरहेको छु,’ उनले भने । कामुको म्याद थप गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार समेत गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । ‘कामु म्याद थप गर्नका लागी भन्दै हामीले फागुन ११ गते नै मन्त्रालयमा पत्राचार गरेका हौ, तर अहिलेसम्म केही जवाफ आएको छैन,’ उनले भने ।
सिर्दिवासबाटै पाउने सेवाका लागी जिल्ला सदरमुकाम धाउनुपर्दा स्थानीयले निकै सास्ती खेप्नुपर्ने चुमनुव्री गाउँपालिका वडा नम्वर १ का अध्यक्ष कर्मा छेवाङ लामाले बताए । ‘एक त बाटो यसै लामो भयो, अर्काे बजार आउनुपर्दा खर्च पनि धेरै लाग्ने भयो,’ उनले भने । ढड्डा पनि सिर्दिवास कार्यालयमै भएकाले जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन झन्झट हुने उनले गुनासो गरे ।